मंसिर १०, २०७८ शुक्रबार

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्व चयनका लागि शुक्रबारबाट सुरु हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस अधिवेशन गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बिहीबार जारी गरेको सूचनाअनुसार अर्को मिति नतोक्दासम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

सुरुमा ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको थियो ।

१० गतेलाई तय भएको मनोनयन दर्ता र ११ गते मतदान गर्न पनि यातायात र आवास व्यवस्थापन गर्न कठिनाइ हुने भन्ने चितवन कांग्रेसको भनाइ रहेको पोखरेलले उल्लेख गरेका छन् । ‘मनोनयन र मतदानका लागि निर्वाचन स्थलसम्म आउने यातायात र बस्न आवास व्यवस्थापन गर्न कठिनाइ हुने भएपछि कांग्रेस चितवनले प्रदेश अधिवेशनपछि मिति तोक्न सिफारिस गरेको थियो,’ सूचनामा उल्लेख छ ।

काठमाडौं केन्द्रीय निर्वाचन समितिमा राय सुझाव र निकासका लागि लेखेर पठाए पनि त्यहाँबाट केही जानकारी नआएको हुँदा निर्वाचन कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरेको पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ । चितवनमा जिल्ला अधिवेशनभन्दा तलका सबै इकाइका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रम सकिएको छ ।

नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट सुरु हुने भएकाले पनि कांग्रेसले जिल्ला अधिवेशन स्थगित गर्नुपरेको हो । एमाले नेता कार्यकर्ताले भरतपुर र सौराहा भरिएकाले पनि कांग्रेस अधिवेशन गर्न कठिनाइ हुने भएकाले स्थगित गरिएको बताइएको छ ।