मंसिर १०, २०७८ शुक्रबार

सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त हुनेछ । एक चरणमा सात खेल हुनेछन् ।

पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे सुरु हुने खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबविरुद्ध खेल्नेछ ।

लिगमा सातदोबाटो पहिलो जितको खोजिमा छ । यसअघि सातदोबाटोले पहिलो खेलमा ललितपुर प्रतिद्वन्द्वी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई दुइ विदेशी खेलाडीको साथ रहेको छ ।

प्रशिक्षक मेघराज केसीले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एक विदेशी खेलाडी थ्रीस्टारविरुद्ध उपलब्ध नहुने बताएका छन् । नवप्रवेशी सातदोबाटोका प्रशिक्षक केसीले थ्रीस्टारको टोली समेत सेट नभइ सकेको अवस्थामा आफ्नो टोलीले तिन अंकको लागि खेल्ने बताए ।

‘भोलि (थ्रीस्टारविरुद्ध) तीन अंककै लागि खेल्छौं । प्रत्येक खेल हामी तीन अंकका लागि खेल्छौं । अस्तिको खेल (थ्रीस्टारविरुद्ध च्यासल) हेर्दा सबै गोल डिफेन्डरबाट आएको हो । उनीहरु पनि सेट नभइसकेको हुन सक्छ ।’ थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेको केसीले भने ।

यसअघिका सिजन थ्रीस्टारको टच लाइनमा रहेका केसी त्यहि पूर्वक्लबविरुद्ध जित निकाल्ने दाउमा हुनेछन् । अघिकांश खेलाडी पुरानै रहेकाले केसीले केहि रणनीति पक्कै प्रस्तुत गर्नेछन् ।

पहिलो खेलमा छिमेकी च्यासल युथ क्लबविरुद्ध ३–० को सहज जित निकालेको थ्रीस्टार सातदोबाटोविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । राष्ट्रिय टोलीका २ खेलाडीको साथ पाएको थ्रीस्टार डिफेण्डर विक्रम लामाको कप्तानीमा जारी लिगमा लगातार दोस्रो जित निकाल्ने दाउँमा छ । थ्रीस्टारलाई तिन विदेशी खेलाडीको साथ रहनेछ ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ सबै विपक्षी बलियो रहेको बताउँदै सातदोबाटोविरुद्ध आफ्नो खेल खेल्दै जित्न खेल्ने बताउँछन् ।

‘पहिलो खेलबाट ‘अट्याकिङ थर्ड’मा हामीले स्कोर गर्ने अवसर निकाल्न सकेनौं । सबै विपक्षी टोली बलिया छन् । हरेक खेल फाइनल सोचेर खेल्छौं । हामी आफ्नो खेल खेल्छौं ।’ पहिलो पटक थ्रीस्टारको टच लाइन समालेका उर्जन भन्छन् ।

साझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । रवि सिलवालको कप्तानीमा रहेको संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । यता, फ्रेण्ड्स समेत पहिलो जित निकाल्न चाहन्छ । फ्रेण्डस् उद्घाटन खेलमा नव प्रवेशी सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पहिलो चरणको अन्य खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लब आमुने सामुने हुनेछन् । तेस्रो दिनको एक मात्रै खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड व्बाईज क्लब र न्युरोड टिम एन आरटी आमुने सामुने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

करिब ४ महिना चल्ने लिगको पुछारको दुई टोली दोस्रो डिभिजन लिगमा घटुवा हुनेछन् ।