असोज ७, २०८३ बुधबार

गण्डकी, ७ असोजः दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट पाँच घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलोपटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ । 

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदासाथ पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो । यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी रहने उहाँले बताउनुभयो । “पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखरादेखि दुबई जाने यात्रुको बिदाइ पनि गरिनेछ”, महाप्रबन्धक निरौलाले भन्नुभयो । 

    फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पहिले पोखरादेखि दुबई जाने यात्रुलाई बिदाइ गरिने बताउनुभयो । 

    नेपाल पर्यटन बोर्डको सहयोगमा दुबईबाट पोखरा आउने र पोखरादेखि दुबई जाने यात्रुहरुलाई विशेष उपहार प्रदान गरिने उहाँको भनाइ छ । “नाट्टामा आबद्ध व्यवसायीहरु, होटल तथा रेष्टुराँ व्यवसायीहरुले पनि उपहारसहित यात्रुहरुलाई आफ्नो व्यवसायको प्रवर्द्धनात्मक सामग्रीहरु प्रदान गर्नुहुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो, “सो अवसरमा फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्ष्य गरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गरानेछ ।”

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताउनुभयो । उहाँले यस उडानबाट पोखराको पर्यटन, व्यापार तथा अन्तरराष्ट्रिय आवागमन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुककै सिङ्गो पर्यटन क्षेत्रलाई लाभ पु¥याउने प्रमुख आचार्यको भनाइ छ । 

    नियमित उडान तालिकाअनुसार साँझ ६ः१५ बजे अवतरण गरेको फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे यात्रु र कार्गो लिएर दुबईका लागि उड्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनुभयो । अन्तरराष्ट्रिय मापदण्डअनुसार फ्लाई दुबईको उडान सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको उहाँको भनाइ छ । 

    “एक साताअघिदेखि नै फ्लाई दुबईको टोली पनि पोखरा आएर प्राविधिक अध्ययन गरेको थियो”, उहाँले भन्नुभयो, “विमानस्थलका तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ, अब मात्र जहाजको पखाईमा छौँ ।” यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो । 

    पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

    सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

    सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । 

    फ्लाई दुबईको उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । “छुट योेजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ”, उहाँले भन्नुभयो, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।”

    आज साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुन सक्ने जनाइएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ ।  

    विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने बताइएको छ ।