सुनसरी, ७ असोजः धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध पाएको छ ।
प्राकृतिक सौन्दर्यका कारणसमेत बेग्लै पहिचान बोकेको विष्णुपादुका क्षेत्रमा धरानबाट हिँड्दै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति गर्ने अवसर प्राप्त हुनेछ ।
विशेषगरी मोक्ष प्राप्त गर्न नसकेका पितृलाई तर्पण दिइ भगवान् विष्णुले पहिलो श्राद्ध गरेको स्थानका रूपमा विष्णुपादुकालाई लिने गरिएको छ । त्यस घटनाबाट त्यहाँ श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वास रहेको छ ।
इटहरीबाट पहिलोपटक श्राद्ध गर्न आउनुभएका निमा र अविशेक तिम्सिनाले त्यो मन्दिर क्षेत्रमा श्राद्ध गरिँदा पितृले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वासकाकारण आफूहरु यहाँ आएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार, त्यस मन्दिरमा श्राद्ध गर्दा दिवङ्गत आत्माले मोक्ष प्राप्त गर्ने विश्वास छ ।
मोरङ रङ्गेलीबाट पिताको श्राद्ध गर्न आउनुभएका मनिष विष्टले पनि त्यस मन्दिरमा श्राद्ध गरिए दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास हुँदा त्यसका लागि आफू यहाँ आएको बताउनुभयो ।
त्यस मन्दिरमा सिदा र तर्पण गर्न नेपालका मात्र नभई छिमेकी भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजन आउने गरेको मन्दिरका पुजारी इमानसिंह तामाङले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष पौष शुक्ल औँशीका दिन आफ्ना पितृलाई पिण्ड तथा तर्पण दिन ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन् । अहिले पनि दैनिक रूपमा श्राद्ध गर्न भक्तजन विष्णुपादुका पुग्ने गरेको पुजारी तामाङले बताउनुभयो ।
धरानको मुख्य बजारबाट करिब १२ किलोमिटरको दुरीमा रहेको उक्त मन्दिर क्षेत्रमा दैनिक एक सय ५० बढी भक्तजन पुग्ने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बूले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो पितृ कार्यसँग जोडिएको धार्मिक तथा पर्यटकीय मन्दिर भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक छ ।”
पुजारी तामाङका अनुसार विगतमा यातायात सेवाको पहुँच नहुँदा भक्तजनलाई मन्दिरसम्म पुग्न कठिन थियो । हाल त्यहाँ पुग्न सहज सडक मार्ग र यातायातको सहज पहुँचपछि श्रद्धालु भक्तजनको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो ।
सडक तथा अन्य पूर्वाधार थप व्यवस्थित गर्न सके दैनिक रूपमा अझ ठूलो सङ्ख्यामा भक्तजन आउने उहाँको भनाइ छ । आगामी सोह्रश्रद्धालाई लक्षित गरी स्वदेश तथा विदेशबाट समेत त्यस मन्दिरमा बाक्लो रुपमा भक्तजनको उपस्थिति रहने विश्वासका साथ स्थानीय वडाले आवश्यक तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
विसं १९७० मा स्थानीय लक्ष्मण घिसिङले मन्दिरस्थल उत्खनन पाउको छापसहितको ढुङ्गा फेला पारेपछि त्यसलाई भगवान् विष्णुको पाउका रुपमा पुजिने गरिएको छ । उक्त मन्दिरमा पुस्तौँदेखि तामाङ समुदायका व्यक्ति मुख्य पुजारीका रुपमा रहने भए तापनि पितृश्राद्धको विधि ब्राह्मण पुजारीबाट गराउने परम्परा छ ।