ईश्वर थापा
धनकुटा, ८ असोजः पछिल्लो समय गाउँदेखि सहरसम्म चिसो पेय पदार्थको प्रयोग तीव्र रुपमा बढिरहेका बेला नगरपालिका–१ हिलेमा भने मोही पिउनेक्रम बढेको छ । धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगबाट उत्पादित मोहीलाई विस्तारै ‘ब्रान्डिङ’ गरी बिक्रीवितरण गरिँदैछ ।
हरेक बिहान ठूलो भाँडोमा घोलिएको ताजा मोही बोतलमा भरिँदै ‘लेबल’ टाँस्ने काम भइरहेको हुन्छ । त्यहाँ रहेका कामदारसँगै व्यस्त रहने व्यक्ति हुनुहुन्छ डेरी व्यवसायी राजु घिमिरे । उहाँ मोहीलाई आधुनिक ब्रान्ड बनाउने योजनाका साथ काम गरिरहेको बताउनुहुन्छ ।
विवाह, भोज, सभासम्मेलन, होटल–रेस्टुरेन्टदेखि घरायसी पाहुनासम्म, बोतलका चिसा पेयपदार्थ सामान्य बनिरहँदा नेपाली समाजमा पुस्तौँदेखि प्रयोग हुँदै आएको मोही, मोही, सर्बत, जाँडो मौसमको घोल वा घरेलु पेय पदार्थ विस्तारै बजारबाट हराउँदै गएका छन् । यही परिवर्तनको भीडमा धनकुटा नगरपालिका वडा नं २ घर भएका घिमिरेको डेरीबाट उत्पादित मोहीको प्रयोग बढ्दै गएको छ ।
विसं २०७५ देखि डेरी व्यवसाय सुरु गर्नुभएका घिमिरेले सुरुआती दिनमा दूधजन्य उत्पादनहरु नौनी, पनिर र छुर्पी उत्पादन गर्दै आउनुभएको थियो । स्थानीय बजारमा ती उत्पादनको माग पनि राम्रै थियो तर समयसँगै बजार बदलियो । बजारमा बाहिरबाट आउने उत्पादन बढेपछि प्रतिस्पर्धा चर्किंदै जाँदा स्थानीय उत्पादन बिक्री हुन कठिन हुँदै गएको छ ।
“एक समय यस्तो आयो, डेरी व्यवसाय नै छोड्नुपर्ने अवस्थाजस्तो भयो”, घिमिरे सम्झिनुहुन्छ, “पनिर र छुर्पी बनाएर मात्रै टिक्न गाह्रो हुँदै गइरहेको थियो ।” यही कठिन परिस्थितिले उहाँलाई नयाँ विकल्प खोज्न बाध्य बनायो । धेरै सोच विचारपछि मोही उत्पादनलाई नयाँस्वरुपमा प्रस्तुत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “हामीले सानैदेखि मोही खाएर हुर्केका हौँ”, उहाँ भन्नुहुन्छ, “तर बजारमा यसको कुनै ब्रान्ड थिएन । सबैले घरमै बनाउने तर व्यावसायिक रुपमा कसैले अघि बढाएका थिएनन् ।”
उहाँले २०८० सालदेखि ‘दुर्गा मोही’ नाम दिएर उत्पादन सुरु गर्नुभएको छ । उहाँले मोहीलाई एक लिटरको आकर्षक बोतलमा प्याकिङ गर्न थालेको र सोहीअनुसारको लेबल तयार गरेको बताउनुभयो । “सुरुमा त डर लागेको थियो”, उहाँ हाँस्दै भन्नुहुन्छ, “बिक्छ कि बिक्दैन भन्ने चिन्ता थियो । तर अहिले माग धान्नै गाह्रो भइरहेको छ ।” अहिले सिंहदेवी डेरी उद्योगमा दैनिक ३०० लिटरभन्दा बढी मोही उत्पादन भइरहेको छ । विशेष कार्यक्रम, मेला वा समारोहमा माग अनुसार उत्पादन अझ बढाउनुपर्ने अवस्था रहेको छ ।
घिमिरेले उत्पादन गरेको मोही अहिले हिले, पाख्रिबास, सिधुवालगायत क्षेत्रमा माग हुने गरेको छ । विवाह, भोज, स्थानीय सभा–सम्मेलन तथा सामाजिक कार्यक्रममा पनि ‘दुर्गा मोही’ प्रयोग हुन थालेको उहाँको भनाइ छ । पछिल्लो समय स्थानीय उपभोक्ता पनि मोहीप्रति आकर्षित हुन थालेका छन् । स्थानीय विमल दाहाल भन्नुहुन्छ, “पहिला कार्यक्रममा कोल्डड्रिङ्ग्स नै खाने चलन थियो । अहिले मोही खान थालेपछि फरक अनुभव भइरहेको छ । यो स्वादिलो पनि छ, स्वास्थ्यका लागि राम्रो पनि ।”
उहाँका अनुसार बजारमा पाइने धेरै पेय पदार्थमा चिनी र विभिन्न रसायनको मात्रा बढी हुन्छ तर मोही प्राकृतिक, पौष्टिक र शरीरका लागि लाभदायक मानिन्छ । विशेषगरी गर्मी मौसममा मोहीले शरीरलाई चिसो राख्ने, पाचन प्रक्रिया सुधार गर्ने र ऊर्जा दिने विश्वास गरिन्छ ।
ग्रामीण समाजमा खेतबारीमा काम गर्ने मानिसहरुको दैनिकीसँग मोहीको सम्बन्ध पुरानै भए पनि बदलिँदो समयसँगै त्यो परम्परा हराउँदै गइरहेका अवस्थामा ‘दुर्गा मोही’ ले फेरि त्यसलाई बजारमा फर्काउने प्रयास गरेको छ ।
डेरी उद्योगमा उत्पादित मोही खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार तयार गरिन्छ । प्याक गरिएको मोही करिब एक हप्तासम्म प्रयोग गर्न मिल्ने अनुमति रहेको छ । घिमिरेका अनुसार मोही उत्पादनमा गुणस्तर सबैभन्दा महत्वपूर्ण पक्ष हो । उहाँ भन्नुहुन्छ, “सफाइ, गुणस्तर र स्वादमा कुनै सम्झौता गर्दैनौँ ।” उद्योगमा अहिले मोहीसँगै नौनी, पनिर र छुर्पी उत्पादन पनि भइरहेको छ तर पछिल्लो समय मोही नै मुख्य पहिचान बन्न थालेको छ ।
धनकुटामा ‘दुर्गा मोही’ केबल पेय पदार्थका रुपमा सीमित छैन । यसले स्थानीय उत्पादनप्रतिको विश्वास बढाउने काम पनि गरिरहेको छ । नेपालमा धेरै स्थानीय उत्पादन उचित ब्रान्डिङ र बजार व्यवस्थापनको अभावमा हराउँदै गएका छन् । गाउँघरमा उत्पादन हुने परम्परागत खाद्य सामग्री आधुनिक बजारसँग जोडिन नसक्दा व्यवसाय टिक्न सकेका छैनन् तर घिमिरेको प्रयासले परम्परागत उत्पादनलाई समयअनुसार प्रस्तुत गर्न सकियो भने त्यसले बजार पाउनसक्छ भन्ने उदाहरण दिएको छ । अहिले धनकुटालगायत बजारमा ‘दुर्गा मोही’ विस्तारै ‘ब्रान्ड’ बन्दै गएको मोरिङ्गा होटलका सञ्चालक सागर दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खासगरी गर्मीयाममा होटलमा आउने ग्राहकको पहिलो रोजाइ नै मोही बन्ने गरेको छ ।”