असोज ८, २०८३ बिहिबार

लमजुङ, ८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

    जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मस्र्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव कृष्णबहादुर अधिकारीले बताउनुभयो ।

    उहाँअनुसार बेँसीसहर नगर कार्यसमितिको सभापतिमा पूर्णबहादुर थापा (अर्जुन), सुन्दरबजारको सभापतिमा उत्तम गुरुङ, मस्र्याङ्दी गाउँ कार्यसमितिको सभापतिमा लोकनाथ घिमिरे, दूधपोखरीको सभापतिमा कमलप्रसाद धिताल र दोर्दीको सभापतिमा लालबहादुर गुरुङ र क्व्होलासोथर गाउँ कार्यसमितिको सभापतिमा राजु गुरुङ चयन हुनुभएको छ । 

    बाँकी मध्यनेपाल र राइनास नगरपालिकामा भने सभापतिका आकाङ्क्षीबीच सहमति जुट्न नसक्दा नेतृत्व चयन हुन नसकेकोे सचिव अधिकारीले बताउनुभयो ।

    सचिव अधिकारीका अनुसार ती पालिकामा सहमति हुन नसकेका खण्डमा निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ । सहमति जुटाउन केही समय लागेमा असोज १० गतेपछि पनि अधिवेशनको प्रक्रिया अघि बढ्नसक्ने उहाँको भनाइ छ ।