असोज ८, २०८३ बिहिबार

काठमाडौँ, ८ असोज : प्रतिनिधिसभाका सांसदहरुले रसुवाको भोटेकोशी बाढी परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सरस्वती लामाले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गर्नुभयो ।

      सांसद सागर भुसालले जेनजी आन्दोलनमा प्रभावितलाई रु पाँच हजार एउटा व्यक्तिको गाँस, बास र कपासको आवश्यकता पूरा नहुने भएकाले पुनर्विचार गर्न माग गर्नुभयो । सांसद साजिदा खातुन सिद्धिकीले रसुवा बाढीमा वेपत्ताको खोजी के हुँदैछ भनी सोध्नुभएको छ । आत्मदाह किन बढेको छ भनी खोजी गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद सीताराम साहले धान बालीलाई पानी नभएर समस्या भएकाले तराइ क्षेत्रको सुक्खाको समस्या समाधान गर्न माग गर्नुभयो ।

     सांसद सृजना श्रेष्ठले निजी क्षेत्रले रोजगारी वृद्धिमा काम गर्ने भएकाले यसको प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । सांसद सुजाता तामाङले कृषि जमिनको क्षति हुनबाट रोक्ने व्यवस्था गराउन माग गर्नुभयो । गरीबको मुख्य स्रोत नै कृषि भएकाले यसको संरक्षण गरिनुपर्नेमा उहाँको जोड थियो । 

      सांसद सुनिल केसीले कर्मचारीसँग सहकार्य गरी गल्ती भए कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउनुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार चौधरीले तराइ क्षेत्रका जग्गा समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो । 
      सांसद सुशील खड्काले बागलुङ जिल्लामा शिक्षण अस्पतालको व्यवस्था गराउन माग गरेकामा प्रगति भएन भन्नुभयो । सांसद सुशीला ढकाल आचार्यले मद्यपान गर्नेहरुका कारण समस्या हुने गरेकाले समाधान गराउन माग गर्नुभयो ।  सांसद सुषमा स्वर्णकारले जेनजी आन्दोलन भएको एक वर्ष भएपनि आन्दोलनमा सहभागी जेनजी याद्धा जेलमा रहेकाले तिनलाई न्याय दिन माग गर्नुभयो । सांसद सोम शर्माले संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनको मुद्दामा प्रधानमन्त्रीको सम्बोधनको प्रतीक्षा भइरहेको बताउनुभयो । 

      सांसद स्मृति सेञ्चुरीले दशैँमा घर फर्कने उत्साहबीच गत वर्ष भदौको जेनजी आन्दोलनमा जेल परेकालाई न्याय माग गर्नुभयो । सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिनको दरले माननीयको तलबले नभ्याउने अवस्था भएकाले तत्काल समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो । 

     सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका प्रहरी चौकी भवन जीर्ण भएर समस्या आएकाले समाधान गर्न, मोटरसाइकल पनि पुराना भएर नचल्ने गरेकाले चलाउने व्यवस्था गराउन माग गर्नुभयो । सांसद ज्ञानु पौडेलले अब आउने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउने गरी कानुनी व्यवस्था मिलाउन माग गर्नुभयो । निर्णायक तहमा पनि महिला निर्वाचित हुने गरी व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।  सांसद सुम्निमा उदासले विपद्पछि पर्यटन क्षेत्रमा अन्यत्र स्थगित गरेपनि मनास्लु क्षेत्रमा पर्यटक भएकाले मौसमका कारण हुने समस्याका बेला तिनको उद्धार गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।