काठमाडौँ, ८ असोज ः नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले जनताका चाहनाअनुसार नयाँ सोच र नयाँ तारिकाले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले जनताले सरकारसँग धेरै अपेक्षा गरेको बताउँदै सरकारले वाचा गरेअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा जनताको चाहना र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै उहाँले टिप्पणी गर्नुभयो । सांसद खातीले भन्नुभयो, “नागरिकले अझै पनि सरकारी निकायमा झन्झटिलो प्रक्रिया नै भोग्नुपरेको छ । सुशासन भाषणमा सजिलो छ, तर व्यवहारमा कठिन छ । यसको कार्यान्वयन गर्न कानुन सबैका लागि समान हुनुपर्छ र सरकारलाई प्रश्न गर्दा अन्यथा सोच्नुहुदैन ।”
असल कानुन निर्माणका साथै भएका कानुनको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताले अब प्रक्रिया भन्दा परिणाम खोजेकाले सोहीबमोजिम सरकारले काम गर्नुपर्ने बताउनुभयो । भोटेकोशी बाढी विपद्को व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट विशेष समिति गठन भएको सम्बन्धमा सो समितिमा राष्ट्रिय सभाको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँले माग गर्नुभयो ।