वीरगञ्ज (पर्सा), ८ असोजः जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ ।
यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम विज्ञान विभागको समाचारलाई ध्यानमा राख्दै जिल्लावासीलाई सचेत रहन अनुरोध गरिएको हो ।
जिप्रकाले आज सूचना जारी गरी उक्त अवधिमा जरुरी नभई यात्रा नगर्न र जिल्लामा रहेका साना तथा ठूला खोला नदीको तटीय क्षेत्रमा बसोबास नगर्न अपिल गरेको छ ।
वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नुपर्नेमा जिप्रकाको जोड छ । जिप्रकाले भनेको छ, “नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनीसम्बन्धी जानकारी लिइरहनुहुन पनि अनुरोध गर्दछौँ ।” सहायक प्रजिअले भन्नुभएको छ ।