असोज ८, २०८३ बिहिबार

झापा, ८ असोजः गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखिनै खोप लगाउन सुरु गरियो । सोबाहेकका १३ वटा पालिकामा बिहीबारदेखि खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले खोप लगाउने अभियानअन्तर्गत जिल्लाका एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने लक्ष्य लिइएको बताउनुभयो ।

उहाँले कनकाई, कचनकबल, हल्दिबारी र मेचीनगरमा छ हजार ८४८ गाईभैँसीलाई खोप लगाइसकिएको जानकारी दिनुभयो । खोप अभियानअन्तर्गत फार्म र गोठमै पुगेर खोप लगाउन १५ वटै पालिकामा १२१ जना दक्ष प्राविधिक परिचालन गरिएको छ ।

असोज १५ गतेसम्ममा सबै १५ वटै पालिकाका ८० प्रतिशत गाईभैँसीलाई खोप लगाइसक्ने योजना बनाइएको उहाँले बताउनुभयो । खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप र त्यसका लागि आवश्यक सामानग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ । यसअघि झापामा खोरतविरुद्ध चौथो चरणको अभियान सम्पन्न भइसकेको छ ।