सर्लाही, ८ असोजः सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य आम्दानी गरिरहेको पाइएको छ ।
खासै सिँचाइको समेत आवश्यकता नपर्ने उक्त खेतीबाट लगानी कटाएर अरु बालीनालीभन्दा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसान ओलखेतीतर्फ आकर्षण बढेको हो ।
बरहथवा नगरपालिका–१५ पिप्राभित्ताका किसान किशोरी साह ओल खेतीबाट कम्तीमा प्रतिकट्ठा रु ५० हजार आम्दानी लिन सकिने बताउनुहुन्छ । उहाँले गत वर्ष प्रतिकठ्ठा रु एक लाखसम्म आम्दानी लिएको बताउनुभयो । कृषक साहले यस वर्ष डेढ बिघा खेतमा उक्त खेती लगाउनुभएको छ ।
“पाँच कट्ठाको ओल बिग्रियो सुरुमै खनेर बेचिदिए”, उहाँले भन्नुभयो, “त्यसबाट रु दुई लाख ५० हजार आम्दानी भयो । बाँकी खन्ने काम भइरहेको छ ।” साहले आफ्नोसँगै अरु किसानको ओल र तरुललगायतको तरकारी ठेक्कामा किनेर बजार लैजाने गर्नुभएको छ । “म आफैँ खेती पनि गर्छु”, साहले भन्नुभयो, “यहाँ किसानले लगाउनुभएको ओल, आलु, सखरखण्ड, तरुल खेतै हुन्डा लिएर बजार लैजान्छु ।”
काठमाडौँको कालीमाटी र बल्खुलगायतका तरकारी बजारमा होलसेल बिक्री गर्दै आउनुभएका साहले । बालुवा वा पाँगो माटोमा राम्रो उत्पादन हुने उक्त कन्दमूलका लागि सुक्खा जग्गा राम्रो हुने बताउनुहुन्छ । “अन्य खेतीका लागि पानी, मलखाद धेरै चाहिन्छ”, उहाँले भन्नुभयो, “यो खेतीले किसानलाई निकै राहत मिलेको छ ।” ओलका लागि सिँचाइ अभावले समस्या नहुने, कृषि मजदुर पनि थोरै भए पुग्ने उहाँको भनाइ छ ।
किसानले उत्पादन गरेको ओल काठमाडौँ, हेटौँडा, वीरगञ्ज, जनकपुर, विराटनगर, झापा, बुटवल, पोखरासम्मका व्यापारी आएर लैजाने गरेको बरहथवा नगरपालिका–५ का अर्का किसान घुरन महतोले सुनाउनुभयो । उहाँले भन्नुभयो, “फागुन चैतमा रोपेको ओल भदौबाट खन्न सुरु गरिन्छ । प्रतिकट्ठा ओलले २० देखि २२ क्विन्टलसम्म उत्पादन दिन्छ । एउटा बोटमै १० देखि १२ किलोसम्मको ओल फल्ने गरेको छ ।”
कृषक महतोका अनुसार गत वर्ष ओल रु ८० देखि रु १०० किलोसम्म बजारमा बिक्री भयो । अहिले रु ४५ देखी ६५ रु किलोसम्म बिक्री भइरहेको छ । तराई मधेसमा स्वादिष्ट तरकारीको रुपमा ओल धेरै प्रयोग हुने गरेको छ ।
अर्का कृषक वीरेन्द्र यादव भन्नुहुन्छ, “महँगो तरकारीको रुपमा परिचय रहेको ओलबारे एउटा भनाइ छ । ‘चैतमा परबर भदौमा ओल’, ‘कि खाए राजा कि खाए चोर’ ती महिनामा ती दुई जातका तरकारी तराईमा निकै महँगोमा बिक्छ । वीरलै पाइने भएकाले त्यो सबैको पहुँचमा हुँदैन ।
स्वास्थ्यको हिसाबले अधिक उपयोगी
ओल स्वास्थ्यको लागि निकै उपयोगी पोषण युक्त तरकारी भएकाले यसलाई बहुगुणी कन्दमूलको रुपमा उल्लेख गरेको पाइन्छ । प्रसस्त फाइबर, पोटासियम, कार्बोहाइड्रेट, वनस्पतिजन्य एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइने भएकाले ओलले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्ने आयुर्वेद चिकित्साले समेत भनेको छ । यसमा पाइने फाइबरले पाचन प्रणालीमा धेरै फाइदा पुर्याउने विज्ञको मत छ ।
तराई मधेसमा विशेष गरी तरकारी, चटनी, तरुवा बनाएर प्रयोग गरिने ओल लामो समय शरीरलाई आडिलो बनाइराख्ने भएकाले छिट्टो भोक लाग्दैन । आलु, पिँडालुलगायतको तरकारीको विकल्पमा समेत ओलको प्रयोग हुने गरेको छ ।
ओलका परिकार, तयार गर्ने विधिलगायतका विषयमा उपभोक्तालाई ज्ञान नभएकाले यसको गुणबारे धेरैलाई थाह नहुँदा बजार सानो रहेको व्यपारीहरुको बुझाइ छ । केही पहाडी जिल्लाका बजारसम्म ओल पु¥याइने गरेको भए पनि यसलाई मधेसको खाद्यान्नको रुपमा मात्र हेर्ने गरिएको व्यापारी कञ्चन महतोले बताउनुभयो ।
“सामान्यतया ओल पिँडालुजस्तै कन्दमूल हो”, उहाँले भन्नुभयो, “पिँडालुजस्तै काँचो शरीरमा लाग्यो वा खाइयो भने शरीर घाटी जिब्रो चिलाउने कोक्याउने हुन्छ । तर, मज्जाले पकाएर खाँदा पिँडालुजस्तै स्वादिलो हुन्छ ।” यसको स्वाद बुझेकाले भने खोजेर खाने गरेका उहाँले बताउनुभयो । ओलको उपयोगिता र प्रचारप्रसार नभएका कारण मुुलुकका सबै ठाउँमा पर्याप्त व्यपार हुन नसकेको व्यापारीको प्रतिक्रिया छ । मधेस प्रदेशको सर्लाही, महोत्तरी र रौतहटलगायतका जिल्लामा उत्पादित ओल भारतीय बजारमा राम्रो मूल्यमा बिक्री हुँदैआएको छ ।