मुस्ताङ, ९ असोजः मुस्ताङमा स्थानीय तह र स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाको कार्यदक्षता र उनीहरूको प्रोत्साहनका लागि प्रदेश जनस्वास्थ्य कार्यालयले आज यहाँका तीन स्थानीय तह र तीन स्वास्थ्य संस्थालाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ को सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना कार्यक्रमको समापन कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका विभिन्न सूचकको प्रगति मूल्याङ्कनका आधारमा स्थानीय तह र स्वास्थ्य संस्थालाई सम्मान गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयको प्रगति मूल्याङ्कनका आधारमा आव २०८२/८३ मा ७७ दशमलव १३ प्रतिशत अङ्क प्राप्त गरी घरपझोङ गाउँपालिका पहिलो बनेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ७४ दशमलव ११ दोस्रो र थासाङ गाउँपालिका ७० दशमलव ८९ प्रतिशत अङ्क प्राप्त गरी तेस्रो भएको छ ।
कार्यालयको वार्षिक प्रगति मूल्याङ्कनका आधारमा मुस्ताङका २३ वटा स्वास्थ्य संस्थामध्ये घरपझोङ गाउँपालिकाको जोमसोम स्वास्थ्यचौकी (ठिनी) ले ७९ दशमलव ८६ प्रतिशत अङ्क प्राप्त गरी पहिलो भएको छ । यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ स्वास्थ्यचौकीले ७८ दशमलव २५ सहित दोस्रो र थासाङ गाउँपालिका–३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रले ७३ दशमलव २० अङ्क प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।
जिल्लास्तरीय रूपमा स्थानीय तह र स्वास्थ्य स्वास्थ्य संस्थाबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी र कार्यालय प्रमुख ठकुराठीले सम्मानपत्र अर्पण गर्नुभएको थियो । वार्षिक समीक्षा कार्याक्रममा गत वर्ष सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको थियो भने आव २०८३/८४ को लागि योजना तर्जुमा सम्बन्धी छलफल भएको थियो ।
---