बग्दाद, १० असोज : इराकले मानवीय प्रयोजनका लागि इरानसँगको हवाई उडान पुनः सञ्चालन गर्न आफ्ना केही विमानस्थललाई अमेरिकी प्रतिबन्धबाट छुट दिलाउने प्रयास थालेको छ । यसका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको इराकी अधिकारीले शनिबार बताएका छन् ।
प्रधानमन्त्रीको सञ्चार कार्यालयका अधिकारी अली अल–जैदीका अनुसार प्रस्तावित छुटको उद्देश्य चिकित्सा उपचार, शिक्षा, धार्मिक तीर्थयात्रा तथा अन्य मानवीय आवश्यकताका लागि उडान सञ्चालनको अनुमति प्राप्त गर्नु हो । उहाँका अनुसार अमेरिकी अर्थ मन्त्रालयले हालै इरानी एयरलाइन्समाथि थप प्रतिबन्ध लगाएपछि इराकले यो पहल गरेको हो ।
अल–जैदीले इराकले क्षेत्रीय तनाव कम गर्न सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै लामो समयसम्म द्वन्द्व जारी रहे यसले अवस्थालाई अझ जटिल बनाउने चेतावनी दिनुभयो । उहाँले सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्नुभयो ।
इराकी सञ्चारमाध्यमका अनुसार अमेरिकी प्रतिबन्धका कारण इराकका धेरै विमानस्थलबाट इरान जाने तथा इरानबाट आउने उडान हालै स्थगित गरिएका छन् ।
यस महिनाको सुरुमा अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको थियो । मन्त्रालयले गैर–अमेरिकी वायुसेवा कम्पनीहरूलाई अमेरिकी मूलका वा अमेरिकी नियन्त्रणमा रहेका व्यावसायिक विमान इरानमा सञ्चालन गर्न दिइएको अनुमति निलम्बन गरेको छ । साथै, प्रतिबन्धित इरानी वायुसेवा कम्पनीलाई विमान, कार्गो सेवा, बिक्री प्रतिनिधित्व, खरिद वा अन्य कुनै प्रकारको सहयोग गर्ने विदेशी कम्पनीले पनि अमेरिकी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।