असोज ११, २०८३ आइतबार

पूर्णप्रसाद मिश्र

काठमाडौँ, ११ असोजः पर्वमा गरिने भएकाले पार्वणश्राद्ध भनिने पितृकर्म प्रत्येक महिनाको आमावास्या अर्थात् औँसी तिथिमा गर्नुपर्ने हो । 
 
    कलियुगमा मानिसको शक्ति क्षय भएर प्रत्येक महिना गर्न नसकेपछि आश्विन कृष्ण पक्षको एक तिथि अर्थात् कर्ताका पिताको मृत तिथिमा अनुकल्पका रुपमा निरन्तरता दिइएको धर्मशास्त्रविद्हरुको भनाइ छ । सक्नेले पार्वणश्राद्ध आश्विन कृष्ण पक्षका पनि सबै तिथिमा गर्छन् । त्यो पनि नसक्नेले एउटा तिथिमा गर्दै आएका हुन् ।
 
    आश्विन–कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ । श्रद्धाले दिवङ्गत पितृका नाममा दान दिनु नै श्राद्ध हो । दिवङ्गत पितृका नाममा दान दिने परम्परा प्रत्येक धर्मावलम्बीमा कुनै न कुनै रुपमा प्रचलनमा रहेको पाइन्छ ।
 
    गृहस्थाश्रमीले सकिन्छ भने आश्विन कृष्ण पक्षका १६ दिनमा प्रतिदिन पार्वणश्राद्ध गर्नुपर्छ । सकिँदैन भने आफ्नो पिताको तिथिमा एक दिन मात्र भने पनि पार्वणश्राद्ध गर्नुपर्ने नियम छ । यदि आफ्नो पिताको तिथिमा श्राद्ध गर्न मिलेन भने अष्टमी, द्वादशी, औँसी तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको छ । यी दिनमा पनि मिलेन भने १६ दिनमध्ये निषिद्ध तिथिबाहेक अरु कुनै एक तिथिमा गर्नुपर्छ ।  त्यसमा पनि मिलेन भने कार्तिककृष्ण आमावास्या अर्थात् गाईतिहारे औँसीमा गर्नुपर्छ । पार्वण श्राद्ध नगरे छोरालाई दोष लाग्छ भनी शास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ ।        
                 
                सूर्ये कन्यागते श्राद्धं यो न कुर्यात् गृहाश्रमी ।  
                 धनं पुत्राः कुतस्तस्य पितृनिःश्वासपीडनात् ।।  
 
    अर्थात् सूर्य कन्याराशि (आश्विनकृष्ण)मा गएपछि जुन गृहस्थाश्रमीले आफ्नो पिताको तिथिमा श्राद्ध नगरी पितृलाई लामो श्वास फेर्नुपर्ने पीडा दिन्छ भने त्यो धन र छोराको के काम ? अर्थात् धन र छोरा पितृका लागि व्यर्थ हुन्छ । त्यसैले असल चरित्रवान् छोराले पिताको निमित्त तीन काम गर्नुपर्ने कुरा श्रीमद्देवीभागवतमा उल्लेख गरिएको छ । 
             जीवतो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।  
             गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता ।।  

    अर्थात् बाँचुञ्जेल पिताले भनेको मान्ने, क्षयतिथिमा श्राद्ध गरी धेरै जनालाई भोजन गराउने र गया तीर्थमा गएर तीर्थ श्राद्ध ग¥यो भने मात्र असल छोरामा गनिन्छ ।  
                   
        श्राद्ध गर्दा ध्यान दिने विषय  

    श्रीमती रजस्वला भएमा अर्थात् परसरेमा सोह्रश्राद्ध रोकिन्छ । तिथिमा गरिने एकोद्दिष्ट श्राद्धमा भने रोकिँदैन । सूतक–जुठो परी रोकिएको श्राद्ध जुठोमा १३ दिनमा र सूतकमा ११ दिनमा गर्नुहुन्छ । शास्त्रमा भनिएको पनि छ– 
         
    मृतौ त्रयोदशे कुर्यात् जातावेकादशेऽहनि   
     
    पिताको वर्ष दिनको कामपछि दोस्रोपटक श्राद्ध नगरिकन सोह्रश्राद्ध र तीर्थश्राद्ध गर्नु हुँदैन भन्ने भ्रम परेको सुनिन्छ । शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको यथार्थ त्यस्तो नभएको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
   
    पहिलो वार्षिक (आद्याब्दिक) श्राद्ध ११ दिनमा नै भइसकेको हुन्छ । वर्षदिनमा गरिने दोस्रो वार्षिक श्राद्ध भएकाले यस्तो भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । वार्षिक श्राद्धपछि सोह्रश्राद्ध, तीर्थश्राद्ध सबै फुक्दछ ।  
      
    निर्णयसिन्धु नामक धर्मशास्त्रीय ग्रन्थमा रात र दिन छुट्याउने सम्बन्धमा भनिएको छ–
             रात्रिं त्रिभागं कुर्यात् तु द्वौ भागौ पूर्व एव तु  ।
          उत्तरांशः प्रभातेन युज्यते ऋतु–सूतके ।    

    अर्थात् रात्रिको घडी (समय)लाई तीन भाग गर्ने, पहिलो दुई भाग अघिल्लो दिन हुन्छ र पछिल्लो एक भाग बिहान (दोस्रो दिन) हुन्छ । सूतक, जुठो र महिला रातिमा पर सर्दा यही सिद्धान्त लागू हुने सिद्धान्त छ ।  
     
    गया तथा बद्री तीर्थमा गएर तीर्थश्राद्ध गर्ने परम्परा छ । त्यहाँ श्राद्ध गरेपछि घरमा आएर श्राद्ध गर्नुपर्दैन गर्नुहुँदैन भन्ने भ्रम कसै–कसैमा परेको देखिन्छ । त्यहाँका पण्डाले पनि “तपाईंका पितृहरू मुक्ति भएर गए अब श्राद्ध गर्नु पर्दैन”, भन्छन् । 
  
    यस विषयमा धर्मशास्त्रका गुरुहरू भन्नुहुन्छ– “त्यहाँका  पण्डाले अब श्राद्ध गर्नु पर्दैन भने पनि गृहस्थी भएर रहेसम्म जति पटक बद्रीतीर्थमा श्राद्ध गरे पनि घरमा आफ्ना पितृको श्राद्ध पिण्ड दिएर नै गर्नुपर्छ, नत्र दोष लाग्छ ।”  
 
    अशक्त अवस्थामा एकोद्दिष्ट श्राद्ध रोक्नु हुँदैन, ब्राह्मणद्वारा भए पनि श्राद्ध गराउनु पर्छ । पार्वणमा मात्र असक्त भइयो भने तर्पण, सिधा दान गरे हुन्छ ।            
     
    धनी–गरीब सबैले आफ्नो गच्छेअनुसार पितृको श्राद्ध गर्नुपर्छ । श्रद्धाले दिनु नै श्राद्ध भएकोले आर्थिक अभाव भए पनि आफूले सोझो कमाइ गरेर ल्याएको शुद्ध धनले किनेको साग मात्र दान गर्नाले पनि श्राद्ध पूर्ण हुन्छ, पितृ प्रसन्न हुनुहुन्छ । धर्मसिन्धुः नामक ग्रन्थमा भनिएको छ–
            तस्माच्छ्राद्धं नरः कुर्यात् शाकैरपि यथाविधिः ।     
             पार्वण श्राद्धमा निषेध 
  
    स्वर्गीय पिताको वर्ष दिनमा गरिने एकोद्दिष्टश्राद्धमा पिण्डदान गरिएको छैन भने पार्वणश्राद्धमा पिण्डदान गर्न मिल्दैन । एकोद्दिष्टश्राद्ध गरेपछि मात्र पार्वण श्राद्धमा पिण्डदान गर्न मिल्छ । एकोद्दिष्टश्राद्ध गर्न मिलेन भने पार्वणमा तर्पण र सिधादान गर्न मिल्छ ।  
   
    पिताको श्राद्ध–तिथि यदि नवमी प¥यो भने पितामह अर्थात् हजुरबाको तिथिमा, द्वादशीमा वा औँसीमा पार्वण श्राद्ध गर्नुपर्छ ।  
  
    श्राद्धमा परम्पराका विषयमा निर्णयसिन्धु नामक ग्रन्थमा भनिएको छ–                                

    ‘देशाचाराः परिग्र्याह्यास्तत्तद्देशीयजैर्नरै’ अर्थात् पितृको श्राद्धमा आ–आफ्नै देशाचार कुलाचारका परम्परागत–चलनलाई पनि यथासम्भव अवलम्बन गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।  
          
        श्राद्ध गरेको फल र शुभ पात्र 
   
    श्राद्ध गरेको फलका विषयमा श्राद्धप्रकाश नामक ग्रन्थमा भनिएको छ–
            आयुः प्रजां धनं विद्यां  स्वर्गं मोक्षं सुखानि च ।  
            प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।।     
   
    अर्थात् श्राद्धमा तृप्त हुनुभएका पितृहरूले श्राद्धकर्तालाई  दीर्घायु, सन्तान, सम्पत्ति,  विद्या,  स्वर्ग, मोक्ष, सुख र राज्य दिनुहुन्छ । श्राद्धमा सुन, चाँदी, तामा, पित्तल र वनस्पतिको पात्र शुभ र फलामको पात्र अशुभ मानिन्छ ।
            
    सोह्रश्राद्धमा कतिवटा पिण्ड दिने ?
   
    शास्त्रमा ब्राह्मणका निम्ति देवकार्यलाई भन्दा पनि पितृकार्यलाई महत्व दिइएको वाल्मीकि विद्यापीठ शुक्लयजुर्वेद विषयका प्रा डा आमोदवर्धन कौण्डिन्यायन आचार्य बताउनुहुन्छ । त्यसैले श्राद्ध र तर्पण अनिवार्य भएको उहाँले सुनाउनुभयो । 
  
    शुक्लयजुर्वेदका अनुयायीका निम्ति श्राद्धको विधान गर्ने वेदजत्तिकै प्रामाणिक मूल ग्रन्थ कात्यायन–श्राद्धकल्पसूत्र भएको आचार्य बताउनुहुन्छ । प्रत्येक महिनाका कृष्णपक्षमा पिता, पितामह, प्रपितामह, मातामह, प्रमातामह र वृद्धप्रमातामहलाई गरेर जम्मा छ वटा पिण्ड दिनुपर्ने विधान छ–
  
    ‘पितृभ्यः पितामहेभ्यः प्रपितामहेभ्यो मातामहेभ्यः प्रमातामहेभ्यो वृद्धप्रमातामहेभ्यः स्वधोच्यताम्’ (का.श्राद्धसूत्र, कण्डिका ३) । अरु वेदशाखाका गृह्यसूत्रहरुमा र तदनुसारका स्मृतिपुराणहरुमा बताइएका नौ वटा वा १२ ओटा पिण्ड दिने कुरा शुक्ल यजुर्वेदाध्यायीले अनुसरण गर्न मिल्दै नमिल्ने उहाँको तर्क छ ।
  
    “गृह्यकर्ममा आफ्ना वेदशाखामा नभनेका कुरा थप्न पनि हुँदैन र थप्न पनि मिल्दैन भन्ने कुरा मीमांसाशास्त्र पढेका व्यक्तिलाई छर्लङ्ग हुन्छ”, आचार्यले भन्नुभयो ।
   
    मामाघरको हजुरबा (मातामह) जीवित भएमा चाहिँ जीवितलाई नाघेर मामाघरका बुढा हजुरबाहरु (प्रमातामहादि) लाई पिण्ड दिन शुक्ल यजुर्वेदको वेदशाखामा मिल्दैन । कात्यायनश्रौतसूत्र(४.१.२७) मा उल्लेख गरिएको छ–
                “न जीवन्तमतीत्य ददातीति श्रुतेः” 
  
    जीवितलाई नाघेर पिण्ड दिन नमिल्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । यस्तो अवस्थामा पिता, पितामह र प्रपितामहलाई गरेर जम्मा तीन पिण्ड मात्र दिनुपर्ने आचार्य बताउनुहुन्छ । 
  
    “यो पनि आफ्ना शाखाका वेदका वचन र मीमांसाशास्त्रका न्यायअनुसार निर्णय हुने कुरा हो, लौकिक तर्कबाट निर्णय हुने होइन । यस्ता अवस्थामा छ पिण्ड दिन नमिल्ने भएकाले पारस्करका छ पिण्डका कुरा मात्र मान्नुपर्छ भन्ने केही छैन, नौ, १२ वा त्योभन्दा बढी पनि पिण्ड पार्वणश्राद्धमा दिन हुन्छ र दिन पर्छ भन्नु मूल शास्त्रको अर्थ गर्ने तरिका नबुझ्नु हो । कुनै वेदशाखाका पार्वणश्राद्धमा पिता, पितामह र प्रपितामहलाई गरेर जम्मा तीन पिण्ड मात्र दिने कुरा पनि आएको छ । हाम्रा वेदशाखामा भने छ पिण्ड नै दिने विधान छ”, उहाँले भन्नुभयो ।
   
    एकोद्दिष्टश्राद्ध र पार्वणश्राद्ध मिसाएर गर्न हुँदैन । सोह्रश्राद्धमा गरिने पार्वणश्राद्धमा एकोद्दिष्टगणका पितृहरुलाई थप पिण्ड दिन मिल्ने देखिँदैन । बरु इच्छा भए पार्वणश्राद्ध सकेर एकोद्दिष्टश्राद्ध छुट्टै गर्न मिल्ने पनि आचार्यको भनाइ छ । प्रत्येक महिनाका औँसीमा श्राद्ध गर्न नसकिएमा त्यसको अनुकल्पका रूपमा वर्षभरिमा तीन ऋतुमा तीन पटक र त्यो पनि नसके सोह्रश्राद्धमा एकपटक मात्र पार्वणश्राद्ध गर्ने कुरा मनुस्मृतिमा आएको छ–
            “अनेन विधिना श्राद्धं त्रिरब्दस्येह निर्वपेत् ।
            हेमन्त–ग्रीष्म–वर्षासु पाञ्चयज्ञिकमन्वहम् ।।”
           आर्यविद्यासुधाकरमा उद्धृत गरिएको वचनमा भनिएको छ–
           “मासिकं पार्वणं प्रोक्तमशक्तानां तु वार्षिकम् ।”
  
    कलियुगमा मानिसको शक्ति क्षय भएर मासिक रुपमा पार्वण श्राद्ध गर्न नसकेकैले विकल्प पनि नभई अनुकल्पका रुपमा वार्षिक रुपमा पार्वण श्राद्ध गर्ने व्यवस्था शास्त्रमा गरिएको उहाँले सुनाउनुभयो । 
   
    “पार्वणश्राद्ध शुक्लयजुर्वेदीका निम्ति नित्यश्राद्ध हो । शुक्लयजुर्वेदका वेदशाखानुयायीले आफ्ना वेदशाखामा र आफ्ना सूत्रमा भएको पार्वणश्राद्धको अनुकल्पका रूपमा गरिँदै आएको सोह्रश्राद्धमा गरिने पार्वणश्राद्ध छोडेर आफ्ना श्रुतिसूत्रमा नभएको महालय भनेर छुट्टै श्राद्ध गर्नुपर्छ भन्ने मान्न मिल्दैन । महालयको विधायक मूल वचन शुक्लयजुर्वेदको कुन ग्रन्थमा छ ? कतै छैन । अनिवार्य रूपमा गर्नैपर्ने श्राद्धचाहिँ नगरे पनि हुन्छ भन्ने कुरा र आफ्ना वेदशाखा–सूत्रमा विधान नगरिएको श्राद्धचाहिँ गर्नैपर्छ भन्ने कुरा कर्मकाण्डको रोहरित नबुझ्नेले गरेका हुन्”, आचार्यले भन्नुभयो ।
  
    नेपाली परम्परामा प्रायः सर्वत्र सोह्रश्राद्धमा छवटै पिण्ड दिने गरिएको देखिन्छ, सुनिन्छ । यो आफ्नो वेदशाखाको विधानअनुरूप नै चलेर आएको हो भन्ने देखिन्छ । त्यसैगरी पिताका तिथिमा छेकथुन भएमा पितामहका तिथिमा सोह्रश्राद्ध गर्ने प्रचलन पनि सूत्रवचन र मीमांसान्यायको समन्वयबाट आएको देखिने पनि उहाँको भनाइ छ । 
   
    “पारस्करगृह्यसूत्रमा विधि सङ्कषेपमा बताइएको  हुनाले त्यहाँ अपूर्णता छ, त्यस अपूर्णतालाई भाष्यकारले पूर्ण गरेका छन् । त्यसैले सूत्रकारकाभन्दा भाष्यकारका भनाइ प्रामाणिक हुन् भन्नु त गृह्यसूत्रको स्वरूप कत्ति पनि नबुझ्नु र वैदिक ग्रन्थहरुको मान्यताक्रमको बोध नहुनु हो । आफ्ना शाखाका वेदसंहिताको, ब्राह्मणग्रन्थको, श्रौत–स्मार्त–सूत्रग्रन्थको, आफ्ना शाखाका परिशिष्टग्रन्थहरुको र मीमांसाशास्त्रको समेत गम्भीर अध्ययन नभएमा यस्तो धारणा बनाउन र बोल्न पुगिँदो रहेछ”, आचार्यले भन्नुभयो ।
  
    यस विषयको थप विवेचना शिवराज आचार्य कौण्डिन्याययनले रचना गर्नुभएको पार्वणश्राद्ध पद्धतिका विस्तृत नेपाली भूमिकामा गरिएको छ । पार्वणश्राद्धको यो पद्धति वेदाध्ययनमा अधिकार भएका शुद्धकुलीन शुक्लयजुर्वेदी ब्राह्मणहरुका निम्ति हो । यो परिशुद्ध पद्धति प्रकाशित भइसकेपछि कुलीन ब्राह्मणहरुले अरु अशुद्ध पद्धति समातेर श्राद्ध गर्न उचित हुँदैन । उक्त पुस्तकमा चलनचल्तीका कुरा पनि मसिना अक्षरमा समावेश गरिएको पनि उहाँले सुनाउनुभयो ।