असोज ११, २०८३ आइतबार

सप्तरी, ११ असोजः सप्तरीको सप्तकोशी नदीमा गएको बाढीले ५०० भन्दाबढी घर डुबानमा परेका छन् । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा नं पाँच हजार ७१२ मा ३८० र वडा नं १३ को गोबरगाढा टापुमा १५० घर डुबानमा परेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाको २७ घर डुबानमा परेका छन् ।

    तीन दिनदेखि पानी घरभित्रै पसेपछि घरमा भएको खाद्यान्न,  लत्ताकपडा, दाउरालगायत सामग्री निकाल्न नसक्दा हामी बाढीबाट प्रभावितलाई खाना पकाउनसमेत समस्या भएको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ की ४० वर्षीया विमलाकुमारी सदाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दुई सानासाना नातिनातिनासहित आठ जनाको परिवार छौँ । शनिबार रातिदेखि नगरपालिकाले बिहान बेलुकी खाना खुवाउन थालेको छ ।” बस्न, नुहाउन र लुगा धुन पनि एकदमै समस्या भएको सदाले बताउनुभयो । 

    “हाम्रो परिवार यहाँ बसेदेखि चौथो पुस्तामा आइसकेको र यो समस्या चार पुस्तादेखि झेल्दै आएका छौँ । चौथो पुस्ता अहिले बालबालिका नै छन् । प्रत्येक वर्ष वर्षा याममा बाढीले यसरी नै घर डुबाएर सबै सखाप पार्छ । पानी सुकेपछि सबै शून्यबाट सुरू गर्दागर्दै फेरि एक वर्षपछिको अवस्था यस्तै हुँदै आएको छ । हामी यहाँ बसोबास गर्ने सबैको सम्पत्तिका नाममा केही छैन । विकल्प नभएपछि ठाउँ छोड्नसक्ने अवस्था छैन । सरकारले हामीलाई बसोबासका लागि विकल्प दिनुप¥यो”, सदाले भन्नुभयो ।

    स्थानीय २५ वर्षीया आरतीदेवी सदा ससाना चार सन्तानसहित सोही ठाउँमा बसोबास गर्दै आउनुभएको छ । श्रीमान् भने मजदुरीका लागि भारतको पञ्जाब गएको चार महिना भयो । बाढीका बेला चार वटा सन्तान लिएर एक्लै बस्नुपर्दा थप समस्या भएको छ । घरमा भएको खाट पनि सुत्नका लागि निकाल्ने कोही नभएको उहाँले बताउनुभयो । 

    सदाले भन्नुभयो, “त्रिपाल टाँगेर कसरी बसौँ ? दुई छाक खान पाएका छौँ । कतैबाट आएको राहत पनि राख्ने ठाउँकोसमेत व्यवस्थापन गर्न सकेकी छैन ।” 

    बस्तीमा बसोबास गर्ने सबैको समस्या उस्तै रहेको स्थानीय ३० वर्षीया बौकी देवी सदाले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी हामीलाई खानेपानीको समस्या छ । पानीमा डुबेको चापाकलको पानी पिउनुपर्ने बाध्यता छ ।”

    गोबरगाढा टापुको मात्र १५० परिवारसहित पालिकाको ५०० भन्दाबढी परिवार डुबानमा परी विस्थापित भएको हनुमान नगर कङ्कालिनी नगरपालिकाका नगरपालिका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “गोबरगाढा बस्तीका बढी प्रभावित परिवारलाई बस्तीका पश्चिमी भागमा टेन्टमा र कोसी तटीय क्षेत्रमा डुबानमा परेका परिवारलाई तत्काल टेन्टमा सारिएको छ ।” पालिकाको वडा नं ७ र ५ को १५४ परिवारका घरमा पानीका कारण खाना पकाउने अवस्था नभएपछि पालिकाले शनिबारदेखि दुई छाक खाना खुवाउने ब्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

    कोसीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–४, ५ र ११ वडाका २७ घर बाढीमा बाढी बसेर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले बताउनुभयो ।