असोज १२, २०८३ सोमबार

बागलुङ, १२ असोजः बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ ।

तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता हुनुभएको छ । 

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् । 

यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो । 

बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति

विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।

क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ ।

देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।