मंसिर १२, २०७८ आइतबार

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आउँदो चुनावका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । 

आयोगको यही मङ्सिर ७ गतेको बैठकले चुनावको तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रिय सभा सदस्यको चुनाव आउँदो माघ १२ गतेका लागि घोषणा गरिसकेको छ । चुनावलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचनको कार्यक्रमसमेत प्रकाशित गर्नेछ ।

५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल आउँदो फागुन २० गते समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशिकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल हुनुहुन्छ ।

सरकारको सिफारिसबाट विज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको पनि चार वर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदैछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई, चार र ६ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो । आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि पाँच करोड ८४ लाख रुपैयाँको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

राष्ट्रिय सभा सदस्य चुनावको मतदाताका रूपमा देशका सात सय ५३ पालिकाका मेयर र उपमेयर तथा प्रदेश सभा सदस्य रहनुभएको छ । राष्ट्रिय सभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मत भार १८ तथा प्रदेश सभा सदस्यको मत भार ४८ कायम हुनेछ ।