काठमाडौँ, १४ असोजः बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी विरुद्ध बैङ्किङ कसुर मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला
भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४५४ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासीमा २२२ जनाको शव फेला परेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३४ शव व्यवस्थापन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।