वासिङ्टन, १६ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भन्नुभयो ।
विमानमा सह–पाइलटले कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि सङ्घर्ष भएको थियो । साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको विमानका यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो । साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताउँदै विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ । युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको अनुसन्धान भइरहेको बताएका छन् । नेतान्याहुले सह–पाइलट ओमानी नागरिक भएको र इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा पनि जाँच हुने बताउनुभएको छ ।
भारतीय नागरिक क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । फ्लाइटराडार २४ का अनुसार विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो । घाइते क्याप्टेन मच्छरको स्वास्थ्य राम्रो रहेको भारतीय दूतावासले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको साहसको प्रशंसा गर्नुभएको छ ।
फ्लाईदुबईले आफ्ना अर्का ड्युटीमा रहेका चालकदलका सदस्यले विमानलाई सुरक्षित अवतरण गराएको जनाएको छ । अनुसन्धान जारी रहेकाले इजरायलका लागि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच, अमेरिकी सैन्य उपस्थिति मध्यपूर्वमा बढिरहेका बेला ट्रम्पको चेतावनी आएको हो । ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने युएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ गइरहेको छ ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह–पाइलटलाई नियन्त्रणमा लिन र विमान दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताउनुभएको छ ।