महेन्द्रनगर, १६ असोजः कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आजदेखि पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
यहाँस्थित निङ्गलाशैनी विकास समाजको आयोजनामा दुईदिने जिल्ला स्तरीय प्रतियोगिताको एक समारोहबीच निङ्गलाशैनी समाजका संस्थापक अध्यक्ष महेश चन्दले उद्घाटन गर्नुभयो । नजिकिदै गरेको विजया दशमी, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले रु २५ हजार, उपविजेताले रु १२ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले रु ६ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक दिलबहादुर धामीले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत पुरुष, ४५ वर्षमाथिको भेट्रान र ५० वर्षमाथिको सुपर भेट्रान विधा समावेश गरिएको छ । सबै विधाका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने संयोजक धामीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका ५५ टोली सहभागी छन् ।