असोज १८, २०८३ आइतबार

वीरगञ्ज (पर्सा), १८ असोजः पर्सागढी युवा शक्ति क्लबद्वारा सञ्चालित ‘जनसेवा अभियान’ अन्तर्गत पर्सास्थित पर्सागढी नगरपालिकाभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई झुल वितरण गरिएको छ । 

    अभियानले पछिल्लो समय डेङ्गीको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै लामखुट्टेको टोकाइबाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीबारे समेच गराउँदै पर्सागढी-४ अन्तर्गत हर्दासपुर, छोटैली, बकनेरवा तथा धनुका हर्दासपुरलगायत गाउँमाका करिब १०० परिवारलाई अपाङ्गता भएका व्यक्तिलाई आज झुल वितरण गरेको हो । अभियानअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको थियो । 

    त्यसैगरी भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका सवारीचालक मुन्ना अन्सारीको परिवारलाई वीरगञ्ज युवा समाजले आर्थिक तथा राहत सहयोग गरेको हो । अन्सरी वीरगञ्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका स्थायी बासिन्दा हुनुहुन्थ्यो । उहाँ बेपत्ता भएपछि मुख्य आय गर्ने व्यक्ति नहुँदा परिवार आर्थिक सङ्कटमा परेको खबर पाएपछि समाजको टोली पीडितपरिवारको घरमै पुगेर अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्रीसहित नगद रु सात  हजार ५०५ सहयोग हस्तान्तरण गरेको हो ।

    त्यसैगरी वीरगञ्जका समाजसेवी मुन्ना सराफले नारायणी अस्पताल परिसरमा सञ्चालित साप्ताहिक निःशुल्क भोजन सेवामा सहयोग गर्नुभएको छ ।  सराफले आफ्नी छोरी वामिका सराफको पहिलो जन्मदिनको अवसरमा नारायणी अस्पताल परिसरमा सञ्चालित साप्ताहिक निःशुल्क भोजन सेवामा सहयोग गर्नुभएको हो । 

    वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल परिसरमा सञ्चालन गर्दै आएको निःशुल्क भोजन कार्यक्रमअन्तर्गत एक दिनको सम्पूर्ण खर्च सराफ परिवारले व्यहोरेको छ । कार्यक्रममा करिब ४५० जनालाई निःशुल्क भोजन गराइएको थियो ।