असोज २१, २०८३ बुधबार

काठमाडौँ, २१ असोज : प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।

समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन सुरु गरेको हो । विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद् र विपद्पछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनुभयो ।

स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनःस्थापना तथा पुनर्वास र दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

“खोज, उद्धार र राहतमा सङ्घीय सरकार तथा सम्बन्धित निकायले देखाएको तत्परताप्रति स्थानीय जनप्रतिनिधिले खुलेर प्रशंसा गर्नुभएको छ”, उहाँले भन्नुभयो, “अब आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापनामा प्रभावकारी तत्परता देखाउन र तत्काल कानुन संशोधन गरी सम्बोधन गर्नुपर्ने विषयमा उहाँहरूले टड्कारो आग्रह गर्नुभएको छ ।”

समितिले विपद्पछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनस्र्थापना, पुनर्वास तथा पुनर्निर्माणका क्रममा अपनाउनुपर्ने उपाय र आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव सङ्कलन गरिरहेको छ । 
–––