असोज २१, २०८३ बुधबार

रासस

भोजपुर, २१ असोजः षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । व्यावसायिक रूपमा कृषि पेसामा लाग्नुभएका ७१ वर्षीय थापाले कृषि उपजको भण्डारण तथा गुणस्तर कायम राख्ने उद्देश्यले आफ्नै लगानीमा केन्द्र निर्माण गर्नुभएको हो ।

कृषि उत्पादनलाई व्यवस्थित गर्दै उत्पादनपछिको क्षति न्यूनीकरण गर्ने उद्देश्यले करिब रु १५ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा एकपटकमा करिब १० हजार किलोग्रामसम्म कृषि उपज भण्डारण गर्न सकिने क्षमता छ ।

किसानले उत्पादन गरेको कृषि उपज तत्कालै बिक्री गर्न नसक्दा बिग्रने तथा उचित मूल्य नपाउने समस्या हुने भएकाले त्यसको समाधानका लागि चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । “कृषि उत्पादन गरेर मात्र हुँदैन । त्यसलाई सुरक्षित रूपमा भण्डारण गरेर उचित समयमा बिक्री गर्न सक्ने व्यवस्था पनि आवश्यक हुन्छ, केन्द्र सञ्चालनमा आएपछि उत्पादनको गुणस्तर जोगाउन र बजार व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेको छु”, थापाले भन्नुभयो ।

उहाँले २०७६ सालदेखि कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्दै आउनुभएको छ । उहाँले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि उपजलाई सुरक्षित राख्न सकिनेगरी चिस्यान केन्द्र निर्माण गर्नुभएको हो । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको उपज तत्काल बिक्री गर्नुपर्ने बाध्यतासमेत कम हुने उहाँको विश्वास छ ।

चिस्यान केन्द्रमा मौसम अनुसारको कृषि उत्पादन भण्डारण गरेर बेमौसममा तुम्लिङटार, धरान इटहरी विराटनगरलगायतका शहरमा लगेर बिक्री गर्दै आएको थापाले जानकारी दिनुभयो । स्थानीयस्तरमा कृषि उपजको उत्पादन बढ्दै गए पनि भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्था रहेको थापाले बताउनुभयो । उत्पादनलाई सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्नसके किसानको आम्दानी बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

व्यक्तिगत लगानीमा निर्माण गरिएको चिस्यान केन्द्रले स्थानीय किसानलाई पनि कृषि उपज भण्डारणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँका इच्छुक  किसानले ल्याएर आफ्नो कृषि उपज भण्डारण गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।  यसबाट उत्पादनपछिको क्षति कम गर्नुका साथै कृषि क्षेत्रमा व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने थापाले बताउनुभयो ।
–––