असोज २२, २०८३ बिहिबार

गुल्मी, २२ असोजः गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।

    सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभँेडा खेतीमा क्षति पुगेको हो ।  टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । 

    एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसान बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको छ । ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ ।

    बजारमा गोलभेँडाको माग अत्यधिक भए पनि पछिल्लो समय माग अनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताउनुभयो । हुरीका कारण रु आठ लाखभन्दा बढीको गोलभेँडामा क्षति पुगेको छ । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा तथा थोकमा रु ३५ देखि रु ४० सम्म बिक्री हुने गरेको छ । 

    वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ । वर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्याउन सकस भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुर्याउनु पर्ने बाध्यता छ । 

    किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ । तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । 

    तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यस अन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।रासस