वासिङटन, २२ असोज (रासस/एएफपी): नासाको ‘अपोलो लुनार प्रोग्राम’मा प्रयोग हुने कम्प्युटर प्रणालीको विकासको नेतृत्व गर्नुभएका अमेरिकी वैज्ञानिक मार्गरेट ह्यामिल्टनको ९० वर्षको उमेरमा निधन भएको नासाले बुधबार जनाएको छ ।
‘म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ ले वक्तव्यमा ह्यामिल्टनलाई ‘कम्प्युटिङ’ का लागि अगुवा भन्दै उहाँको मृत्यु सेप्टेम्बर ३० मा भएको बताएको छ । उहाँले सन् १९५९ देखि १९७० को मध्यसम्म यस प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गर्नुभएको थियो ।
“ह्यामिल्टन ‘अपोलो लुनार प्रोग्राम’मा अगुवा वैज्ञानिक शुनुहुन्थ्यो उहाँ आफ्नो समयभन्दा अगाडि हुनुहुन्थ्यो भन्नु मात्र पनि अत्यधिक कम आँकलन हुनेछ,” अपोलो कार्यक्रमका प्राध्यापक तथा एमआईटीको एरोनटिक्स एण्ड एस्ट्रोनटिक्स विभागका अन्तरिम प्रमुख ओलिभियर डे वेकले भन्नुभयो ।
“उहाँ सफ्टवेयर प्रविधि क्षेत्र आफ्नो प्रारम्भिक अवस्थामा रहेका समय उहाँ सफ्टवेयर इन्जिनियर हुनुहुन्थ्यो र उहाँले आफैँ उन्नत कोड विकास गर्नुभयो मात्र होइन, त्यस नवजात प्रविधि प्रयोग गरी मानव जातिको सबैभन्दा जटिल प्रणालीहरूमध्ये एक विकास गर्न टोलीको नेतृत्व पनि गर्नुभयो,” डे वेकले थप्नुभयो ।
प्रसिद्ध अपोलो कार्यक्रमले संयुक्त राज्य अमेरिकालाई चन्द्रमामा पहिलो मानव अवतरण गर्ने दौडमा सोभियत सङ्घलाई जित्न सहयोग पु¥याएको थियो ।
नासा प्रमुख जरेड आइज्याकम्यानले सामाजिक सञ्जाल एक्समा ह्यामिल्टनलाई श्रद्धाञ्जलि दिँदै उहाँलाई ‘अपोलो र मानव जातिको चन्द्रमाको पहिलो यात्रा सम्भव बनाउन’ अभियानको अगुवा भन्नुभएको छ ।
सन् १९३६ मा इन्डियानामा जन्मिएकी ह्यामिल्टनले गणित अध्ययन गरेपछि सन् १९५९ मा पतिसँग बोस्टन, म्यासाच्युसेट्स जानुभएको थियो ।
उहाँले एमआईटीमा मौसम विज्ञानमा काम गरेपछि सन् १९६५ मा ‘मानिसलाई चन्द्रमामा पठाउने’ सफ्टवेयर विकास गर्न मानिस खोजिरहेको प्रयोगशालामा सामेल हुनुभयो ।
“उहाँ एमआईटीमा अपोलो परियोजनाकी पहिलो महिला प्रोग्रामरका साथै यो क्षेत्रकै पहिलो प्रोग्रामरका रूपमा नियुक्त हुनुभएको थियो,” विश्वविद्यालयले जनाएको छ ।
“सन् १९६८ सम्ममा उहाँ अपोलोको कमाण्ड एण्ड सर्भिस मोड्युल टोलीको सहायक निर्देशक भइसक्नुभएको थियो र अपोलोको सफ्टवेयरमा ४०० भन्दा बढी मानिसहरू कार्यरत थिए,” एमआईटीले भनेको छ ।
ह्यामिल्टनलाई महत्वपूर्ण अनबोर्ड प्रणालीहरूलाई थप बलियो र दुर्घटना–प्रतिरोधी बनाउने श्रेय दिइएको छ ।
नासाका अनुसार ऐतिहासिक अपोलो ११ मिसनको इगल ल्यान्डर चन्द्रमामा अवतरण हुनुभन्दा करिब तीन मिनेटअघि उहाँको सफ्टवेयरले हस्तक्षेप गरेर गलत स्क्रिप्टलाई ओभरराइड ग¥यो र मिसन सुरक्षित रूपमा जारी रहन सम्भव गराएको थियो ।
एमआईटी इन्स्ट्रुमेन्टेसन ल्याबबाट छुट्टिएर बनेको ड्रेपर ल्याबोरेटरीका सीईओ जेरी वोह्लेट्जले ह्यामिल्टनले कम्पनीमा ‘अमिट छाप’ छोडेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नासाको अपोलो गाइडेन्स कम्प्युटरका लागि अनबोर्ड फ्लाइट सफ्टवेयर विकासमा उहाँको नेतृत्व र योगदानमार्फत, उहाँले अपोलो अन्तरिक्ष यात्रीहरूलाई चन्द्र सतहमा सुरक्षित अवतरण गराउन र सुरक्षित घर फर्कन सुनिश्चित गर्न मद्दत गर्नुभएको थियो । हामी ड्रेपरमा उनको विरासतलाई सधैं सम्मान गर्नेछौँ ।”
ह्यामिल्टनलाई उहाँको उपलब्धिहरूका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’बाट सम्मानित गर्नुभएको थियो ।
सन् २००९ मा ह्यामिल्टनले एमआईटी न्यूजलाई भन्नुभएको थियो, “दोस्रो मौका थिएन । हामीलाई थाहा थियो । हामीले हाम्रो काम गम्भीरतापूर्वक लिन्थ्यौँ, हामीमध्ये धेरैले यो यात्रा २० को दशकमै सुरु गरेका थियौँ ।”
“समाधान र नयाँ विचारहरू ल्याउनु साहसिक कार्य थियो । समर्पण र प्रतिबद्धता स्वतःस्पष्ट थियो । आपसी सम्मान सबैतिर थियो । सफ्टवेयर रहस्य थियो, एउटा ब्ल्याक बक्स, उच्च व्यवस्थापनले हामीलाई पूर्ण स्वतन्त्रता र विश्वास दिएको थियो,” ह्यामिल्टनले चन्द्र अभियानको सफलताबारे भन्नुभएको थियो ।
“पछाडि फर्केर हेर्दा, हामी संसारका सबैभन्दा भाग्यमानी मानिस थियौँ; अगुवा बन्नुबाहेक अर्को विकल्प थिएन,” उहाँले भन्नुभएको थियो ।
ह्यामिल्टनले आफ्नो जीवनभर १३० भन्दा बढी अनुसन्धानात्मक कार्यपत्र प्रकाशित गर्नुभएको थियो भने पछिल्लो समय ‘हायर अर्डर सफ्टवेयर एन्ड ह्यामिल्टन टेक्नोलोजीज’ नामक आफ्नै सफ्टवेयर कम्पनीहरू स्थापना गर्नुभएको थियो ।