काठमाडौँ, २३ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म तीन हजार ७५४ मत खसेको छ । पार्टीको निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल सात हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म तीन हजार ७५४ जनाले मतदान गरेका छन् ।
दिउँसो २ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा एक हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा एक हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका दुई हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन् ।
त्यस्तै, लुम्बिनीमा एक हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा एक हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् । निर्वाचन समितिले यसअघि दिउँसो ३ः०० बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ः०० बजेसम्म पुर्याएको छ । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो । मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ ।