काठमाडौं, असोज २४ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको आधिकारिक परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन परिणाममा सभापति पदमा थापा निर्वाचित भएको घोषणा गरिएको छ। परिणामपत्रमा निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनको हस्ताक्षर रहेको छ।
थापाको विजयसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। पार्टीभित्र संगठनात्मक सुधार, नेतृत्व परिवर्तन र आगामी राजनीतिक रणनीतिलाई प्रभावकारी बनाउनु नयाँ नेतृत्वका प्रमुख चुनौती हुनेछन्।