असोज २४, २०८३ शनिबार

    महेन्द्रनगर, २४ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
    
    दसैँ, तिहारको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले गर्नुभयो । उहाँले नगरको खेलकुदको विकासका लागि पालिकाबाट निरन्तर खेलाडीहरुलाई सहयोग भइरहेको बताउनुभयो ।
    
    “पहिलोपटक हामीले जिल्लास्तरीय ब्याडमिन्टन हल बनायौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सधैँ पालिका खेलाडी र युवाहरूसँग छ ।” तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशस्तरीय बी लेभल खुला र कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय विधा राखिएको शुक्लाफाँटा ब्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले जानकारी दिनुभयो ।

    “हिजो निर्वाचन क्षेत्रस्तरीय क्वार्टर फाइनलसम्मका खेलहरू भएका छन्”, उहाँले भन्नुभयो, “आज बिहानदेखि प्रदेशस्तरीय खुला प्रतियोगिताका खेल दिनभर सञ्चालन हुनेछन् । प्रदेश खुलातर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयतर्फ ३२ समूह सहभागी छन् ।” 
    
    सङ्घले खेलकुदका माध्यमबाट सद्भाव कायम गर्दै स्वास्थ्य समाज निर्माण गर्ने, समाजमा विद्यमान कुरीति, विसङ्गतिको अन्त्य गर्ने, युवा पिँढीलाई लागुऔषधबाट टाढा राखेर समाज रुपान्तरणमा युवाको सक्रिय सहभागिता गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
    
    सुदूरपश्चिम प्रदेशस्तरीय खुलातर्फ उपाधि विजेता टिमले रु ४० हजार नगदसहित ट्रफी र मेडलबाट पुरस्कृत हुने छन् भने निर्वाचन क्षेत्रस्तरीयमा उपाधि विजेता टिमले रु ३० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।