असोज २४, २०८३ शनिबार

काठमाडौं । भारतमा सम्भावित राजनीतिक उथलपुथलले नेपालको अर्थतन्त्र, व्यापार तथा आगामी चाडपर्वको बजार व्यवस्थापनमा असर पार्न सक्ने जेनजी अगुवा रवि किरण हमालले विश्लेषण गरेका छन्। भारतमा विकसित हुन सक्ने राजनीतिक तनावप्रति समयमै सचेत हुँदै नेपालले आर्थिक तथा आपूर्ति सुरक्षाको पूर्वतयारी गर्नुपर्ने उनको धारणा छ।

भारतमा विद्यार्थी आन्दोलन, NEET परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विवाद, निर्वाचन प्रक्रियामाथि उठेका प्रश्न तथा राजनीतिक नेतृत्वप्रति बढ्दो असन्तुष्टिले आगामी दिनमा राजनीतिक तनाव चर्किन सक्ने हमालको आकलन छ। यद्यपि, भारतमा राजनीतिक संकट कस्तो रूपमा विकसित हुन्छ भन्ने कुरा अहिले नै निश्चित गर्न नसकिने उनको विश्लेषण छ।

नेपालको अर्थतन्त्र भारतसँगको व्यापार र आयातमा ठूलो मात्रामा निर्भर रहेकाले त्यहाँ हुने कुनै पनि गम्भीर राजनीतिक अस्थिरता वा यातायात अवरोधको प्रभाव नेपाली बजारसम्म आइपुग्न सक्छ। इन्धन, खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भए बजारमा मूल्यवृद्धि, अभाव र सर्वसाधारणमाथि थप आर्थिक दबाब सिर्जना हुन सक्ने जोखिम छ।

विशेषगरी दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले सम्भावित आपूर्ति अवरोधप्रति सरकार थप जिम्मेवार हुनुपर्ने हमालको भनाइ छ। चाडपर्वकै समयमा आवश्यक वस्तुको अभाव वा अस्वाभाविक मूल्यवृद्धि भए त्यसको प्रत्यक्ष मार आम नागरिकले खेप्नुपर्नेछ।

यसैबीच, बाढीपहिरोका कारण उत्तरी व्यापारिक नाकाहरूमा देखिएका अवरोध र ढुवानीसम्बन्धी कठिनाइका बीच भारततर्फ पनि आपूर्ति प्रभावित भए नेपालको बजार व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्छ। यस्तो परिस्थितिमा सरकारले आयातमा निर्भर वस्तुको मौज्दात, वैकल्पिक आपूर्ति मार्ग र बजारको वास्तविक अवस्थाबारे समयमै समीक्षा गर्नुपर्ने हमालले औँल्याएका छन्।

उनले सरकार, संसद् र सम्बन्धित निकायलाई सम्भावित क्षेत्रीय संकटलाई सामान्य कूटनीतिक घटनाक्रमका रूपमा मात्र नहेरी राष्ट्रिय आर्थिक सुरक्षासँग जोडेर तयारी गर्न आग्रह गरेका छन्। आवश्यक वस्तुको पर्याप्त मौज्दात, प्रभावकारी बजार अनुगमन, कालोबजारी नियन्त्रण र वैकल्पिक आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

हमालका अनुसार संकट उत्पन्न भएपछि हतारमा निर्णय लिनुभन्दा सम्भावित जोखिमको पूर्वानुमान गरी तयारी गर्नु जिम्मेवार राज्यको दायित्व हो। नेपालले बाह्य परिस्थितिबाट उत्पन्न हुन सक्ने आर्थिक दबाब कम गर्न तत्कालीन बजार व्यवस्थापनसँगै स्वदेशी उत्पादन वृद्धि, आपूर्ति स्रोतको विविधीकरण र दीर्घकालीन आर्थिक आत्मनिर्भरतालाई समेत प्राथमिकता दिन आवश्यक छ।

भारतमा सम्भावित राजनीतिक घटनाक्रमको परिणाम अहिले नै निश्चित नभए पनि त्यसले नेपालको अर्थतन्त्र र नागरिकको दैनिक जीवनमा पार्न सक्ने प्रभावलाई समयमै आकलन गर्नु आवश्यक रहेको हमालको निष्कर्ष छ।

भारतमा अहिले विकसित भइरहेको राजनीतिक विवादले आगामी दिनमा ठूलो रूप लिन सक्ने आँकलन गरिएको छ, सत्तासिन भारतीय जनता पार्टीले भारतलाई नै अस्तव्यस्त बनाउने प्रयास भइरहेको बताएको छ।

आन्दोलनसँग सम्बन्धित अभिजित दिप्के, उनको टोली र चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका  छन्। दिल्लीमा ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको, केही मेट्रो स्टेसन बन्द गरिएको, इन्टरनेट सेवा अवरुद्ध भएको र सयौँ रेल रद्द गरिएको विवरणसमेत सार्वजनिक भएका छन्। भारतका कलाकार, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू र विपक्षी राजनीतिक दलसमेत आन्दोलनको समर्थनमा उत्रिए भने त्यसले आन्दोलनलाई थप व्यापक बनाउन सक्छ।