असोज २४, २०८३ शनिबार

काठमाडौँ, २४ असोजः विनाशकारी बाढीबाट प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जानकार एवं सरोकारवालाहरूले जोड दिएका छन् ।

    विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा तरङ्गिनी महिला अधिकार प्रशिक्षण केन्द्र (तरङ्गिनी फाउण्डेसन)ले आज यहाँ आयोजना गरेको ‘बाढीपछिको मानसिक स्वास्थ्यको वर्तमान अवस्था र आगामी बाटो’ विषयक छलफलका वक्ताहरूले बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुको मानसिक स्वास्थ्य शाखाका टेकराज डिसीले बाढी प्रभावित समुदायमा देखिएका मनोसामाजिक समस्या समाधानका लागि सबै तह र तप्काबाट सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले मानवीय क्षतिका साथै घर तथा सम्पत्तिमा क्षति पुर्‍याएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको जीविकोपार्जनमा अवरोध सिर्जना हुनुका साथै कतिपय विस्थापित हुनुपरेको बताउनुभयो । यस्तो अवस्थामा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सबै निकाय सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

    मनोचिकित्सक डा पुष्पप्रसाद शर्माले बाढीका कारण आफन्त तथा सम्पत्ति गुमाउनु, बसोबासको अनिश्चितता, जीविकोपार्जनमा कठिनाइ र भविष्यप्रतिको चिन्ताले प्रभावित समुदायको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताउनुभयो ।

    “यस्तो अवस्थामा शोक, तनाव, चिन्ता, असुरक्षा तथा अन्य मनोसामाजिक समस्यालाई सम्बोधन गर्न आवश्यक छ । प्रभावित समुदायको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

    छलफलका क्रममा काउन्सिलर निर्मला काफ्ले, मिलन कार्की, प्रज्ञा श्रेष्ठलगायतले बाढीपछि प्रभावित व्यक्तिले भोग्नुपरेका समस्या तथा उनीहरूको वर्तमान अवस्थाबारे आफूले देखेका र अनुभव गरेका विषय प्रस्तुत गर्नुभएको थियो ।

    तरङ्गिनी फाउण्डेसनका कार्यक्रम संयोजक बबिता बरालले संस्थाले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार फाउण्डेसनले स्थापनाकालदेखि नै महिलाको कामको सम्मान, मानसिक स्वास्थ्य, आफ्नो शरीरमाथिको नियन्त्रण तथा पहिचानका सवालमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

    बाढीपछिको अवस्थामा प्रभावित समुदायको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोगका कार्यक्रम अघि बढाउने, सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्ने तथा आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशा तय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बरालले बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रका विज्ञ, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।रासस