महोत्तरी, २७ असोजः मिथिलावासी यतिखेर माता दुर्गाको भक्तिगानमा डुबेका छन् ।
दशहरा (बडादसैँ) पर्वको नवरात्र गत आइतबारदेखि सुरु भएसँगै महोत्तरीसहितका प्राचीन मिथिलावासी देवी दुर्गाको भक्तिमा डुबेको हुन् ।
मठ मन्दिर हुन् वा चोकबजार क्षेत्र जताततै देवी दुगाको महिमा भावका भजन गुञ्जदै छन् ।
‘नवरात्रमें अयलहुँ , मैया तोहर दुहार,
भरिदिय जीवन हमर, भक्तिरसक बहार ।
लोभ–मोह आ अहंकार, दूर करु महारानी,
सत्यक बाट देखाउ, हे जग कल्याणी ।।’
(नवरात्रका बेला माता तपाईंको ढोकामा आएको÷आएकी छु । मेरो जीवन तपाईंको भक्तिरसले भरि दिनोस् । हे जगत् कल्याणी, लोभ मोह र अहङ्कार नास गरी मलाई सत्यको बाटोमा अग्रसर गराउनोस् ) ।
भजनमा दुर्गाप्रति समर्पण भावले सत्यपथमा हिँड्न अभिप्रेरित गर्नमात्र हैन, आफूले भोगेका पीडाबाट छुटकाराका लागि पनि देवीको पुकार गरिएका भाव भेटिन्छन् ।
देवी दुर्गा सम्पूर्ण शक्तिको स्रोत मानिने हिन्दू मैथिल परम्परा छ । दुर्गाको कृपाबाटै सुख शान्ति, आपसी प्रेम सद्भाव रहने र सबैतिर सुमङ्गल कल्याण रुपी प्रकाश छाउने विश्वास रहेको पाइन्छ ।
मैथिली संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मटिहानीका पूर्व सहप्राध्यापक ध्रुव रायले दुर्गा माताको रहेका मैथिली भजनमा निम्न भाव भेटिएको बताउनुभयो ।
‘अम्बे, हे जगदम्बे, सुनु हमर पुकार !
सुखी रहथी सब प्राणी, करु एहन उपकार !!
द्वेष–मोह मिटी जाय, प्रेमक दीप जरय,
मैथिलक घरआँगनमे, मङ्गल दीप जरय ।।’
(हे माता, हे जगदम्बे, मेरो पुकार सुन्नुहोस् । सबै प्राणी सुखी रहुन्, यस्तो उपकार गर्नुहोस् ।
द्वेष, मोह सबै मेटियोस्, प्रेमको दियो बलोस् । सम्पूर्ण मिथिलाबासीका घरआँगनमा मङ्गल (कल्याण) रुपी दियो जगमगाओस्) ।
अहिले शारदीय नवरात्रका बेला मिथिला क्षेत्रका बस्तीबस्ती समुदायकै तत्परतामा सरसफाइ गरिएका छन् । मिथिलामा समुदायस्तरमा यस्तो सामूहिक अभियान दशहरा (दसैँ), दीपावली र छठबाहेक अरु बेला खासै देखिन्न ।
सबैमा देवी दुर्गाप्रति भक्ति र समर्पण भाव पाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने पर्व हुँदा दशहरामा आम मान्छेमा सद्विचार फुर्ने गरेको पाका मैथिल बताउँछन् ।
“अरु बेला जालझेल गर्ने पनि यो बेला भक्तिमा डुब्छन् । नवरात्रकोे प्रारम्भदेखि नै बस्तीबस्तीमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा दुर्गा भजन र झिझिया नृत्यको परम्परा छ ।”
बर्दिबास–२ का बासिन्दा ७० वर्षीय वीरेन्द्र झा भन्नुहुन्छ, “मैथिल परम्परामा शारदीय नवरात्रमा फलाहारमात्र गरेर व्रत गर्ने अझै धेरै भेटिन्छन् ।” मन, वचन र कर्ममा सात्विकता अवलम्बन गर्नु यस पर्वको मुख्य सन्देश रहेको बताउनुहुन्छ ।
मिथिलामा घरआँगन लिपपोत गर्ने, रङरोगन गर्ने र गाउँबस्तीकै सरसफाइ र सडक बत्तीको व्यवस्थापन दशहरा, दीपावली र छठमै गरिन्छ । चारैतिर हर्षबढाइँ, देवी दुर्गाका भजन र मेला उत्सवको परिवेश बनेको छ । दिउँसो के रात ? सबैतिर झलमल्ल प्रकाश हुने सडक बत्ती जडित छन् ।
रात पनि उज्यालो बनाएको छ । देवी दुर्गा हुन् वा दीपावलीमा आराधना गरिने लक्ष्मी । त्यस्तै छठमा आराधना गरिने षष्ठी (छठीमाता) सबै देवी उज्यालो र कल्याणदायक मानिन्छन् ।
अहिले नवरात्र र एकपछि अर्को पक्षमा दीपावली र छठ लगातार पर्ने हुँदा यहाँको परिवेश नै पर्वमय बनेको छ । सबै भक्तिरसमा डुबेका छन् ।
माध्यमिक विद्यालयको पूर्वप्रधानाध्याप चन्द्रनारायण सिंह थारुले दशहरादेखि छठसम्मको अवधि मिथिला संस्कृतिमा विशिष्ट रहेको बताउनुहुन्छ ।
उक्त पर्वले आपसी प्रेम, सद्भाव र आपसी एकताका लागि अभिप्रेरित गर्नेहुँदा यिनले वैश्विक पहिचान पाएका पाका मैथिलको भनाइ छ । रासस