कात्तिक ५, २०८३ बिहिबार

फाइल फाेटाे

मुस्ताङ, ५, कात्तिकः हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । 

    असारमा खेतबारीमा छरेको फापर बाली असोज÷कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो ।

    समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ । हिमाली जिल्ला मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडीलगायत खाद्य बालीसहित फापर बाली पनि मुख्य ‘ब्रान्ड’ बनेको छ । अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भएपनि मुस्ताङका किसानले व्यावसायिक रूपमा मात्रै नभइ घरायसी प्रयोजन र देश–विदेशमा बस्ने आफन्त÷इष्टमित्रलाई कोशेली रूपमा दिन फापर खेती गर्ने प्रचलन रहेको छ ।

    मङ्सिरमा लगाइएको उवा र जौ थन्क्याएपछि मुस्ताङका किसानले फापर छर्ने प्रचलन रहेको घरपझोङ–५ ठिनी गाउँका किसान सविता थकालीले जानकारी दिनुभयो । यसरी छरिएको फापर असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म भित्र्याउने गरिन्छ ।

    मुस्ताङको मुख्य उत्पादनको रूपमा रहेको रैथाने फापर खेती मुस्ताङको पाँचवटै स्थानीय तहमा उत्पादन हुने गर्छ । मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म व्यवसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती गर्र्न गरिएको छ ।

    घरपझोङ–५ ठिनी गाउँका स्थानीय किसान अमित थकालीकाअनुसार वर्सेनि उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरेको बताउनुभयो । खेतबारीमा छरेको फापर १०० दिनमा पाकेर घरमा भित्र्याउने गरिन्छ ।

    यसैगरी स्याऊ बगैँचाभित्रको खाली जमिनमा फापर खेती गर्ने गरेको उहाँको भनाइ छ । सडक सञ्जालले नजोडिदा मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा निकै समस्या पर्ने गरेकामा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापरलगायतका रैथाने खाद्य अन्नबाली सहज रूपमा बिक्री हुन थालेको उहाँले उल्लेख गर्नुभयो । 

    फापरको पिठो ढिडो र रोटीलगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।  मुस्ताङमा आउने पर्यटक फापरको ढिडो र रोटी मुख्य आकर्षण बन्न थालेको छ । विशेष स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर÷बजारको भान्साघर र होटलमा मुख्य परिकारका रूपमा ग्राहकलाई पस्किने गरेको पाइन्छ ।