कात्तिक ५, २०८३ बिहिबार

काठमाडौँ, ५ कात्तिक : ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ ।

टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ ।

उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो ।

पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ ।

कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
यस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ ।

पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।

टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।