तोलाकान्त बगाले/रासस
वालिङ (स्याङ्जा), ६ कात्तिक : कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषकले विकल्पको रूपमा गड्यौले मलको प्रयोग गर्नतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सुक्ष्म पोषक तत्वलगायत सुक्ष्म तत्व अधिकमात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो ।
गड्यौले मल एक प्रकारको जैविक मल हो, जुन केही विशेष प्रकारका गड्यौला प्रयोग गरी उत्पादन गर्ने गरिन्छ । गड्यौलालाई खानाको रूपमा गाई, भैंसीको गोबर, घरबाट निस्केका सड्ने गल्ने खालका तरकारीका छिल्का, बोक्रा, पात, केराको थाम प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय किसानले रासायनिक मलबाट बिग्रेको माटोलाई अर्गानिक गड्यौले मल तथा कम्पोष्ट मलको प्रयोग गरी माटोको जीवन बचाउनका लागि पनि गड्यौले मलको प्रयोगलाई बढाउँदै लगेका छन् ।
कृषकले समयमा रासायनिक मल नपाउने र गड्यौले मललाई विकल्पको रूपमा प्रयोग गर्ने सकिने भएकाले स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादन थालिएको छ । वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादनमा जोड दिएसँगै कृषक यसतर्फ आकर्षित भएका हुन् । २०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि सहकारीमा आवद्ध रहेका शेयर सदस्य तथा अगुवा कृषकलाई भेला गरी गड्यौले मलको व्यावसायिक उत्पादन र त्यसबाट हुने आम्दानीका बारेमा प्रशिक्षण सञ्चालन गरेसँगै यहाँका कृषक व्यावसायिक रूपमा अगाडि बढेका संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।
सहकारीले सुरुका दिनमा शेयर सदस्य तथा अगुवा २६० जना कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपश्चात उनीहरुलाई गड्यौलाको बीउ तथा गड्यौला पालनका लागि आवश्यक पर्ने पिट उपलब्ध गराएको थियो । सहकारी आफैँले पनि जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ । “सहकारीमार्फत उत्पादन भएको गड्यौलाको बीउ तथा गड्यौलाको मल बिक्री हुँदै आएको छ” अध्यक्ष गुरुङले भन्नुभयो, “सुरुका दिनमा गड्यौलाको मलका बारेमा कृषकलाई बुझाउन समस्या थियो, पछिल्लो समय बुझेपछि माग अनुसार पु¥याउन हम्मेहम्मे परेको छ ।”
सहकारीमा आवद्ध कृषकले उत्पादन गरेको गड्यौले मल तथा बीउ कृषक आफैँले पनि बिक्री गर्न सक्ने र बिक्री गर्न नसकेको खण्डमा सहकारीमार्फत बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ । कृषकले उत्पादन गरेको मल उहाँहरुले आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्ने र बाँकी रहेको मल बिक्री गरेर आम्दानी लिनसक्ने भएकाले कृषक पछिल्लो समय गड्यौले मलतर्फ आकर्षित भएका हुन् ।
सहकारीले वालिङ–८ खेलमैदान नजिकै पाँच वर्षलाई तीन रोपनी जग्गा भाडामा लिएर गड्यौले मल तथा बीउ उत्पादन गरिरहेको छ । ठूला २७ र साना १८ वटा गरी कूल ४५ वटा पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको हो । सहकारीमार्फत मासिक छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको मल शेयर सदस्यलाई प्रतिकेजी रु ३० र अन्य उपभोक्तालाई प्रतिकेजी रु ३५ का दरले बिक्री गर्दै आएको छ । “रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिंदै गएको छ” अध्यक्ष गुरुङले भन्नुभयो, “रासायनिक मलको जथाभावी प्रयोगमा न्यूनीकरण गर्दै माटो बचाउनुका साथै वातावरण संरक्षण गर्ने लक्ष्य र उद्देश्यसहित अगाडि बढेका छौँ ।”
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा थालेको गड्यौला मल तथा बीउ उत्पादनकार्यमा वालिङ नगरपालिकाको कार्यालय, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेशनल, आस्क नेपाल, आइडिई नेपाललगायतका सङ्घसंस्थाहरुले आर्थिक, प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएका छन् । सहकारीमार्फत गड्यौले मल तथा बीउको व्यावसायिक उत्पादनसँगै यसको अध्ययन अवलोकनका लागि टाढा–टाढाबाट विभिन्न सङ्घसंस्था तथा कृषक समूहहरु आउने गरेका छन् । यहाँ सिकेका सीपलाई आफ्नो ठाउँमा लगेर प्रयोग गर्न थालेसँगै यसलाई गड्यौले मल तथा बीउको अध्ययन पाठशालाकोरूपमा विकसित गर्ने गरी योजना अगाडि बढाइरहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
नयाँ र नौलो प्रकृतिको व्यावसायप्रति पछिल्लो समय आकर्षण बढ्दै जाँदा आम्दानीको स्रोतको रूपमा पनि गड्यौले मल तथा बीउलाई लिन थालिएको छ । पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्माले पनि गड्यौले मल उत्पादन थाल्नुभएको छ । एकीकृत हातेमालो समाज नेपाल नामक संस्थामा आवद्ध व्यावसायिक कृषक बर्माले वालिङमा गरिएको गड्यौलापालनको अवलोकनपछि प्रेरित भई गड्यौलापालन थाल्नुभएको हो । “झण्डै १२ कट्ठामा व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएको छु” उहाँले भन्नुभयो, “काँक्रा खेतीमा रासायनिक मलको प्रयोग गर्दा उत्पादन खासै राम्रो भएन, गड्यौले मलको प्रयोगले उत्पादन दोब्बर भयो, माटोको उर्वराशक्ति पनि बढेको महशुस गरेको छु ।”
अहिले आफूलाई पुग्ने गरीमात्रै गड्यौले मल उत्पादन गर्नुभएका बर्माले आगामी दिनमा उत्पादन वृद्धि गर्ने योजनामा हुनुहुन्छ । उत्पादन वृद्धि भएसँगै आफूले प्रयोग गरेर रहेको मल बिक्री गर्ने सोचमा उहाँ हुनुहुन्छ । “पछिल्लो समय गाउँघरबाट गाईगोरु, भैंसी पाल्ने क्रम हराउँदै गएको छ” बर्माले भन्नुभयो, “खेतीपातीका लागि मल नभई भएन, मलका लागि गड्यौलापालन उपयुक्त लाग्यो, वालिङ गएर हे¥यौं र फर्केसँगै अहिले गाउँमा गड्यौलापालन गर्ने धेरै हुनुहुन्छ, अरु पनि क्रमशः जोडिदै हुनुहुन्छ ।”
स्याङ्जाको वालिङ–५ पित्लेकस्थित जनकल्याण कृषि सहकारीमा आवद्ध व्यावसायिक कृषकले पनि गड्यौलापालन गर्दै आएका छन् । कृषिको पकेट क्षेत्रकारूपमा पहिचान बनाएको पित्लेकका कृषकले आफ्नो बारीमा तरकारीबालीमा प्रयोग गर्नका लागि गड्यौला मल उत्पादन गर्दै आएका हुन् । यहाँका कृषकले व्यावसायिक रूपमा पनि गड्यौलापालन गर्दै आएका सहकारीका व्यवस्थापक एवम् अगुवा कृषक हुमनाथ लामिछानेले बताउनुभयो । “सहकारीमा आवद्ध ८÷१० जना कृषकले गड्यौलापालन गर्दै आउनुभएको छ” कृषक लामिछानेले भन्नुभयो, “उहाँहरुले तरकारी उत्पादनका लागि प्रयोग गर्नुहुन्छ भने बाँकी रहेको मल वालिङ प्रोडक्ट होल्डिङमा प्रतिकेजी रु ३० का दरले बिक्री गर्नुहुन्छ ।”
गड्यौलाको बीउ प्रतिकेजी रु एक हजार ७०० का दरले बिक्री गरेको कृषक लामिछानेले बताउनुभयो । लगानी र मिहेनत कम लाग्ने तर गड्यौला र मल दुबै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको हो । गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने, स्वस्थ र अर्गानिक उत्पादनमा सहयोग पुग्ने र माटोको उर्बराशक्ति बढाउने भएकाले यहाँका कृषक गड्यौलापालनतर्फ आकर्षित भएका कृषक लामिछाने बताउनुहुन्छ । कृषक लामिछानेले तीन वटा पिटबाट वार्षिक रूपमा पाँच हजार केजीभन्दा बढी मल उत्पादन गर्दै आउनुभएको छ । मलबाहेक गड्यौलाको बीउ पनि बिक्री गरी राम्रो आम्दानी हुने गरेको छ ।
बजारबाट गड्यौले मल किनेर तरकारी उत्पादनमा प्रयोग गर्दै आउनुभएका वालिङ–८ का व्यावसायिक कृषक फालचन्द्र कोइरालाले केही दिन अघिदेखि गड्यौला पाल्न सुरु गर्नुभएको छ । गड्यौले मलको प्रयोग गर्दा उत्पादन बढेको महशुस गर्नुभएका कोइरालाले आफैँले गड्यौले मल उत्पादन गर्ने उद्देश्यले वालिङ प्रोडक्ट होल्डिङबाट गड्यौलाको बीउ खरिद गरेर गड्यौलापालन थाल्नुभएको हो । “रासायनिक मलको विकल्पमा गड्यौले मल किनेर प्रयोग गर्दै आएको थिएँ” कृषक कोइरालाले भन्नुभयो, “यसको प्रयोगले उत्पादनमा वृद्धि भएसँगै रासायनिक मललाई विस्थापित गर्न आफैँले गड्यौले मल उत्पादन गर्ने सोच बनाएर गड्यौला पाल्न थालेको हुँ ।” सुरुमा थोरैबाट सुरु गर्नुभएका कोइरालाले विस्तारै थप गर्दै लैजाने तयारीमा हुनुहुन्छ ।
रासायनिक मलको धेरै प्रयोग गर्दा माटोलाई साहे र कसिलो बनाउने तर गड्यौले मलको प्रयोगले माटोको उर्बराशक्ति बढाउन मद्दत पुग्ने भएकाले पनि गड्यौले मलको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएको कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ नारायणप्रसाद पाठक बताउनुहुन्छ । रासायनिक मलको विकल्पमा गोठे मल तथा कम्पोष्ट मलभन्दा राम्रो र उपयोगी गड्यौले मल हुन्छ । गड्यौले मलमा भएको खाद्य तत्व बिरुवाले छिटो छरितोरूपमा ग्रहण गर्न सक्ने, माटोको उर्बराशक्ति बढाउन मद्दत गर्ने, माटोमा चिस्यानको मात्रा कायम राख्ने भएकाले पनि यो मल बढी उपयोगी र प्रभावकारी रहेको उहाँको भनाइ छ ।
यहाँ उत्पादन भएको मल तथा बीउ वालिङसहित चापाकोट, भीरकोट, गल्याङ र पाल्पाको रामपुरका व्यावसायिक कृषकले खरिद गरी लैजाने गरेका सहकारीका गड्यौले मल बिक्री शाखाका व्यवस्थापक अनिता कोइरालाले बताउनुभयो । सहकारीमार्फत तथा सहकारीमा आवद्ध व्यावसायिक कृषकले उत्पादन गरेका गड्यौले मल तथा बीउ सहकारीमार्फत प्रशोधन गरेर बजार पठाउने गरिएको छ । सहकारीले मलको प्रशोधन गरेपछि पाँच, १०, २० र २५ केजीका बोरामा प्याकेजिङ गरेर ‘वालिङ गड्यौले मल’को नामबाट बजारीकरण गरिंदै आएको छ । “अहिले बिक्री भइरहेका ठाउँमा कृषक आफैँ आएर खरिद गरेर लैजानुहुन्छ” व्यवस्थापक कोइरालाले भन्नुभयो, “टाढा–टाढाबाट पनि मल तथा बीउको माग हुने गरेको छ, तर अहिले टाढा–टाढासम्म पु¥याउन सकिएको छैन ।”
आलु, गहुँ, तोरी, खुर्सानी, धान, मकै तथा तरकारी बालीमा कृषकले गड्यौले मलको प्रयोग गर्दै आएका छन् । पछिल्लो समय वस्तुभाउ पाल्ने क्रम हराउँदै जाँदा पनि गड्यौले मलको प्रयोग बढ्न थालेको हो । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीले पढ्दै कमाउँदै कार्यक्रम लागू भएका सामुदायिक विद्यालयमा गड्यौला पालन कार्यक्रमका लागि सहयोग गर्दै आएको छ ।