कात्तिक ७, २०८३ शनिबार

फाइल फाेटाे

सप्तरी, ७ कात्तिकः तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ ।

यस समुदायको पुर्ख्यौउली पेसा ढक्की, कोनियालगायत बाँसको सामग्री बनाउने भए पनि परिश्रम अत्यधिक र आम्दानी न्यून भएपछि यस पेसाबाट आएको आम्दानीले उनीहरूलाई आफ्नो परिवारको खर्च टार्न समस्या हुँदै आएको हो । दिनप्रतिदिन महँगी बढ्दै गएको र आम्दानी सीमित भएकाले यस समुदायको पेसा सङ्कटमा परेको हो ।

याममा जसोतसो छाक टार्न सहज भए पनि अन्य समयमा छाक टार्ने समस्या हुँदै आएको जिल्लाको तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले बताउनुभयो । उहाँले भन्नुभयो“ विवाह र चाडपर्वको बेला ठिकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत समस्या हुँदै आएको छ । बाँसको सामान बनाउन समय धेरै लाग्ने र दाम भनेजस्तो पाउन नसकेपछि समस्या हुँदै आएको छ ।”

ढक्की, कोनियालगायत सामग्री तयार पार्नका लागि एउटा बाँस किन्दा रु २०० देखि ३०० तिर्नुपर्छ । एउटा बाँसको दिनभरि तीनवटा सामग्री बनाउँदा रु एक हजारसम्म आउँछ । यसमा खर्च काटेर ७०० भन्दा बढी सिजनमा दिनको आम्दानी हुँदै आए पनि यामबाहेकको बेला बनाएको सामाग्री बिक्रीवितरण गर्न मुस्किल हुँदै आएपछि छाक टार्न समस्या हुँदै आएको उहाँले बताउँनुभयो ।

छोराहरू यही पेसामा काम गरेर जसोतसो जीविकोपार्जन गरे पनि नातिहरू यो पेसामा मेहनत बढी र आम्दानी कम हुने डरले अर्कै पेसा अपनाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो जातले बनाएको नियमअनुसार आफ्नो एरियाबाहेकमा गएर आफूले बनाएको सामग्री बिक्रीवितरण गर्न नपाइने हुनाले पनि यस पेसामा टिक्न हाम्रो समुदायलाई समस्या भएको छ ।”

डोम समुदायको आफ्नै नियम हुन्छ । क्षेत्र तोकेकोबाहेक आफूले बनाएको सामग्री बिक्रीवितरण गर्न नपाइने हुनाले यस समुदायको पेसा सङ्कटमा परेको राजविराज नगरपालिका–१३ कि रिना मरिकले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान् अपाङ्ग हुनुहुन्छ । काम गर्न सक्नुहुन्न । मैले काम गरेर आएको आम्दानीले परिवार पाल्नुपर्ने बाध्यता छ । बाँसको सामग्री सिजनमा मात्र खरिदबिक्री हुने भएकाले अन्य बेला छाक टार्नै समस्या हुँदै आएपछि सिजनबाहेक अन्य समयमा अन्य काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।”

जिल्लाका दलित अभियन्ता युक्ति मरिकले यामबाहेकको अवस्थामा यस पेसाबाट आम्दानीको अभावले हाम्रो समुदायलाई जीविकोपार्जनमा समस्या भएपछि यस पेसाबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समुदायको पेसालाई दिगो बनाउन व्यवसायी रूपमा आर्थिक सशक्तीकरणका लागि सरकारले ध्यान दिन आवश्यक छ ।”