कात्तिक ११, २०८३ बुधबार

चितवन, ११ कात्तिकः जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन वढ्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो । उहाँका अनुसार गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो । अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धान जोनमा उत्पादन बढेको छ । क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ ।”

जिल्लामा धान जोनका रूपमा पूर्वी चितवनका तीनवटा पालिकालाई लिइँदै आइएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई धान जोनका रूपमा राखिएको छ । जहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार, सावित्रीलगायतका धानका जातका बीउ लगाइएको छ ।

धान जोनअन्तर्गत जिल्लाको खैरहनी नगरपालिका–५ देखि ७ र ९ देखि १३, राप्ती नगरपालिकाको वडा नं १ देखि ४ र ६ एवं रत्ननगर नगरपालिकाको वडा नं ३ देखि ९ सम्मको धानखेती हुने क्षेत्रफललाई राखिएको छ । जोनमा कृषि समूह, फार्महरू सहभागी भएका छन् । जिल्लाको उत्पादनको तथ्याङ्क आउन बाँकी रहेको छ । समग्र जिल्लाको उत्पादनको विषयमा अहिले क्रपकटिङ भइरहेको कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो ।