कात्तिक ११, २०८३ बुधबार

दाङ, ११ कात्तिकः ‘एक घर एक किलो चामल दान अभियान’अन्तर्गत जम्मा गरिएको राहत सामग्री आज नेपाल रेडक्रस लुम्बिनी प्रदेश, समितिलाई हस्तान्तरण गरिएको छ । 

    राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं १ दाङ देउखुरीले सङ्कलन गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो । 
    
    थारु कल्याणकारी सभा क्षेत्र नं १ का सभापति गोकुलप्रसाद चौधरीले विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । 

     लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत सङ्कलन केन्द्र स्थापनागरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको  थियो ।  
    
    उहाँका अनुसार तीनवटा सङ्कलन केन्द्रबाट ३३ हजार २७ किलो चामल सङ्कलन भएको छ ।  त्यस्तै, एक हजार १०५ किलो दाल, दुई हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलो लसुन, २०२ किलो बेसार, २२ किलो खुर्सानी, ३५ किलो गहुँ र ४० किलो पिठो सङ्कलन गरिएको छ । 
    
    यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायतका खाद्य सामग्री पनि सङ्कलन गरिएको छ । उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीलाई हस्तान्तरण गरिएको छ । 
    
    स्थानीय समुदायको सहभागितामा जम्मा गरिएको राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पु¥याउन रेडक्रसमार्फत सहयोग गरिएको हो । विपद् प्रभावितलाई लक्षित गरी राहत सामग्री जम्मा गरिएको र उक्त सामग्री विपद् प्रभावितसमक्ष पु¥याउनेगरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।