कात्तिक ११, २०८३ बुधबार

काठमाडौँ, ११ कात्तिकः उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

    सो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ । स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने सो पार्टीको धारणा रहेको छ ।

    ज्ञापनपत्रमा गैरदलीय स्थानीय निर्वाचनको विषय सार्वजनिक बहस र राजनीतिक प्रतिबद्धताका रूपमा अघि आइसकेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिइएको छ ।