कात्तिक १३, २०८३ शुक्रबार

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।
  
    महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि रु २० लाख सहयोग गरेको हो ।
 
    महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।
  
    विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले राससलाई जानकारी दिनुभयो । 

    महानगरपालिकाले संस्कृत शिक्षा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उहाँले सुनाउनुभयो ।