कात्तिक १३, २०८३ शुक्रबार

हेटौँडा, १३ कात्तिकः मकवानपुरका पत्रकार सुदीप शिवाकोटीले नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा स्थापित महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषमा रु एक लाख सहयोग गर्नुभएको छ ।

पत्रकार शिवाकोटीले आज हेटौँडास्थित नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सभाहलमा आयोजित कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गर्नुभएको हो । विगतमा मकवानपुरमै रहेर पत्रकारिता गर्नुभएका शिवाकोटी हाल अमेरिकामा रहेर पनि पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँले आफूले पत्रकारिता गरेको जिल्लाका महिला पत्रकारको स्वास्थ्य सुरक्षामा केही योगदान पुर्याउने सोचले कोषमा सहयोग गरेको बताउनुभयो ।

महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वमा सहयोग पुर्याउने उद्देश्यले महासङ्घ मकवानपुर शाखाले उक्त कोष स्थापना गरेको हो ।