कात्तिक १३, २०८३ शुक्रबार

जनकपुरधाम, १३ कात्तिक : प्राकृतिक विपद्का विषयमा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव विद्यार्थीलाई जलवायु परिवर्तन विरुद्धको अभियानमा जोड्दै वातावरण संरक्षणको चेतना फैलाउन सक्रिय हुनुभएको छ ।

    प्राकृतिक विपद्का घटना न्यूनीकरण र वातावरण संरक्षणको सन्देश समाजको तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले सभामुख यादवले क्याम्पसमा अध्ययनरत विद्यार्थीसँग प्रत्यक्ष तथा डिजिटल माध्यमबाट जलवायु संवाद सञ्चालन गर्दै आउनुभएको छ ।

    ‘प्रकृति रहेमात्रै मानव अस्तित्व रहन्छ’ भन्ने सन्देशसहित जनकपुरधामस्थित विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीसँग संवाद गर्दै सभामुख यादवले जलवायु परिवर्तन अब वातावरणको विषयमा मात्रै सीमित नरही मानवजीवन, स्वास्थ्य र भविष्यसँग जोडिएकाले यस विषयमा तल्लो तहसम्म जोड्न अभियान सुरु गर्नुभएको हो । 

    “प्रकृतिलाई बचाएर मात्रै मानवजीवन बचाउन सकिन्छ र मानवको सक्रियताबाटै प्रकृतिको संरक्षण सम्भव हुन्छ”, उहाँले भन्नुभयो, ‘‘वन विनास, बढ्दो प्रदूषण, जनसङ्ख्याको चाप र वातावरणीय चेतनाको कमीले जलवायु परिवर्तनको जोखिम बढाइरहेको छ ।”

    प्रकृतिमाथिको बढ्दो हस्तक्षेप रोक्न नसके यसको असर आगामी पुस्ताले अझ बढी भोग्नुपर्ने भएकाले विद्यार्थीसँग यही विषयमा संवाद थालिएको उहाँको भनाइ छ । करिब एक साता अघिदेखि सुरु गर्नुभएको अभियानका क्रममा जनकपुरधामस्थित सिद्धार्थ कलेज, मिट कलेज, राजर्षी विश्वविद्यालय, राराव कलेज तथा विद्यालयका विद्यार्थीसँग जलवायु परिवर्तनबारे संवाद गरिएको सभामुख यादवले बताउनुभयो ।  

    गत असोज १० गते रसुवामा आएको बाढीको घटना स्मरण गर्दै सभामुख यादवले प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न वातावरण संरक्षणलाई विकासको प्राथमिकतासँग जोड्नुपर्ने बताउनुभयो । “कलकारखाना र उद्योगधन्दा देश विकासका लागि आवश्यक छन् । तर औद्योगिक विकाससँगै वनजङ्गल पनि जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    जलवायु परिवर्तनको असर बाढीपहिरोमा मात्रै सीमित नरहेको उल्लेख गर्दै उहाँले अत्यधिक गर्मी, तापक्रमको असामान्य वृद्धि र त्यसबाट उत्पन्न हुन सक्ने विभिन्न स्वास्थ्य समस्याप्रति पनि विद्यार्थीलाई सचेत गराउनुभयो ।

    सभामुख यादवले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सरकारको नीति र कार्यक्रममात्र पर्याप्त नहुने उल्लेख गर्दै नागरिकको सोच, व्यवहार र जीवनशैलीमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो । “युवामा काम गर्ने ऊर्जा र परिवर्तन ल्याउने क्षमता हुन्छ । यही शक्तिलाई वातावरण संरक्षणमा लगाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ”, उहाँले भन्नुभयो ।

    विद्यार्थीले घरपरिवारदेखि समुदायसम्म वातावरण संरक्षणको सन्देश पुर्‍याउन सक्ने भएकाले उनीहरूलाई अभियानको अगुवा बनाउनुपर्ने उहाँको धारणा थियो ।