कात्तिक १५, २०८३ आइतबार

तुलसीपुर (दाङ), १५ कात्तिकः दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ । 

    जसमा नक्सा बिक्रीबाट रु २२ लाख २९ हजार ४७५, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट रु २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शूल्कबापत रु ९३ हजार ७२५ असुली भएको छ । 

    कार्यालयले फिल्ड किताब उतारतर्फ एक हजार १७३ वटा निवेदनमध्ये शतप्रतिशत तामेली भएको छ भने क्षेत्रफल जाँचतर्फ ५४ वटै निवेदनको काम भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

    त्यसैगरी, नक्सा प्रिन्टतर्फ साधारण निवेदनमार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणालीमार्फत २२७ वटा काम भएका छन् । सूचना अधिकारी खड्काका अनुसार फिल्ड  रेखाङ्कनका २५९ निवेदनमध्ये २३८ वटाको काम तामेली भएका छन् भने २१ वटा बाँकी रहेका छन् ।

    त्यस्तै कित्ता एकीकरणका १२३ वटै निवेदनको शतप्रतिशत काम सम्पादन भएको छ । जग्गा कित्ताकाट सेवातर्फ अधिकांशको काम फछ्र्यौट भएको छ । राजीनामातर्फ प्राप्त तीन हजार ३६५ लिखतमध्ये  तीन हजार ३५७ वटाको कित्ताकाट तामेली भई आठ वटामात्र बाँकी रहेका छन् । त्यस्तै अंशबण्डातर्फ ४४३ लिखतमध्ये ५४० वटा, अदालत फैसलातर्फ ५६ लिखतमध्ये ५४ र हालको बकसपत्रतर्फ ४१८ लिखतमध्ये ४१६ वटाको काम तामेली भएका छन् ।

    कार्यालयले राजस्व अनलाइन प्रणालीबाट लिने गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा अनलाइनमार्फत नै उपलब्ध गराउने गरिएको छ ।