काठमाडौँ, १६ कात्तिक : सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहितका न्यायाधीश सम्मिलित ‘फूलकोर्ट’ बैठकले संविधान र कानुनको सर्वोच्चता आफूहरुको अटल आस्था र प्रतिबद्दता रहेको स्पष्ट गरेको छ ।
“संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो” सर्वोच्च अदालतका प्रवक्ता डा अशोककुमार क्षेत्रीले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “यसमा हामी अडिग र स्पष्ट छौँ, संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ ।”
बैठकले सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा विना पूर्वाग्रह निष्पक्ष एवं स्वतन्त्र ढङ्गबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानुन बमोजिम हुने छानबिन र अनुसन्धानमा कानुन बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवं सहयोग गर्नेमा हामी प्रतिबद्ध छौँ ।”
बैठकले न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले उक्त संस्थासँग सम्बन्धित समाचार प्रकाशन गरिँदा आमजनता एवं सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपरोस् भनी छानबिनको निष्कर्ष प्राप्त नहँुदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्नसमेत आग्रह गरेको छ ।
प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झै न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीलाई उक्त पूर्ण बैठकले आग्रह गरेको छ ।
केही दिनअघि प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति पूर्ण बैठकको ध्यानाकर्षण भएको जनाउँदै उक्त अदालतले आफ्नो धारणा लिखित रुपमा सार्वजनिक गरेको हो ।