फागुन २८, २०७७ शुक्रबार


एजेन्सी
पाकिस्तानको एक उच्च अदालतले अश्लील सामग्री राखिएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । पाकिस्तानमा पछिल्लो ६ महिनामा टिकटकमाथि लागेको यो दोस्रो पटकको प्रतिवन्ध हो । 

टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको भन्दै अदालतले प्रतिवन्ध लगाउन आदेश दिएको हो । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरावलोकनको आवेदन दिने बताएको छ ।