वीरगन्ज (पर्सा), १९ कात्तिकः प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्यबराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरीचौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज वीरगन्ज महानगरपालिका–२५ स्थित आइजिपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । टाटा कम्पनीको एक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख गरिएको भए पनि थप ४४ क्यारेट माछा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार ट्रकमा आवश्यक कागजातमा उल्लेख भएभन्दा बढी माछा भेटिएपछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले वीरगन्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।