महोत्तरी, २० कात्तिकः एक दशकपछि पञ्चधुरा मन्दिर परिसरमै जरुवा पलाएको छ । जरुवा भनेको जमिनमुनिबाट आफँै उम्रेर वा नस्किएर बग्ने प्राकृतिक पानीको स्रोत (मूल) हो ।
यसलाई नेपाली समाजमा विशेष गरी ग्रामीण भेगमा शुद्ध र प्राकृतिक पिउने पानीको मुख्य स्रोत मानिन्छ । मन्दिर मधेसकै प्रसिद्ध शक्तिपीठ मानिएको छ । बर्दिबास–४ माईस्थानस्थित मा अवस्थित मन्दिर अगाडिका तीन सरोवर (तलाउ) कञ्चन पानीले भरिएर कमल फूल लहराएपछि यहाँको परिवेश फेरि एक दशक पहिलेझैँ मनोरम बनेको छ ।
जरुवा पानीको मूल यसपाला १० वर्षपछि फुटेपछि एकपछि अर्कोमा गर्दै तीनवटा तलाउ पानीले भरिएका छन् ।
“हामीले यो जरुवा पलाउला भन्ने आस मारी सकेका थियौँ, यसपालि यो पलाएर तलाउ भरिए”, माइस्थानका सामाजिक अगुवा ६५ वर्षीय सोम कार्की भन्नुहुन्छ, “अब यसको सरसफाइ नियमित गर्न सकिए जरुवा दिगो हुन्छ भन्ने आस पलाएको छ ।”
मन्दिर परिसरको जरुवाकै पानी पाँच÷सात किलोमिटर तलका हाथीलेट र सतखोलीसम्मका सर्वसाधारणको जीवनसँग जोडिएको कार्कीलाई झलझली याद छ । जरुवा अकस्मात् सुकेपछि यस भेगकै जग्गा सुख्खा भइ उत्पादन घटेको माईस्थानकै अर्का बासिन्दा बद्रीबहादुर राउतले बताउनुभयो ।
विक्रम संवत् २०७२ को भूकम्पपछि जरुवा सुकेर यहाँका तलाउ र जलमार्ग कमिला हिँड्ने बनेका माईस्थानवासी बताउँछन् । एक दशक पहिले मन्दिर अवस्थित परिसरभित्रको एउटा रुखको फेदबाट भूलभूल उम्लेर निस्कने जरुवा हराउँदा यहाँका बुढापाका अनिष्टको आशङ्का गर्थे । तर यो त वर्षाको कमी, मन्दिर नजिकका नदीमा निरन्तर हुने उत्खनन र जरुवास्थल सफा नगर्दा सुकेको जलाधार तथा भूगर्भविज्ञले बताएका छन् ।
पछिल्ला पाँच÷छ वर्षयता चुरे पर्वत श्रेणीका सुक्खा चउरमा पानी पुनर्भरण पोखरीको निर्माण बढ्दै जानु र यसपाला चुरे क्षेत्रमा पानी पर्नुले यहाँको जरुवा पलाएको चुरे तथा जलाधार विज्ञ डा विजयकुमार सिंहले जानकारी दिनुभयो ।
“यहाँका वनक्षेत्र र नदी किनारमा पछिल्ला पाँच÷सात वर्षयता पोखरी निर्माण भएका छन्, ती पोखरीले पानी पुनर्भरणमा मद्दत गरेका छन्”, डा सिंह भन्नुहुन्छ, “यसपाला चुरे क्षेत्रमा वर्षा पनि निकै भएको हुँदा जरुवा पलाएको हो ।”
बर्दिबास क्षेत्रमा पछिल्ला १० वर्षबीच सरदर एक हजार १९६ मिलिमिटरदेखि एक हजार ३०० मिलिमिटरसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागको विगतको तथ्याङ्क छ ।
यसपालि वैशाखदेखि गत असोजसम्म एक हजार ५०० मिलिमिटरसम्म वर्षा भएको अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको सूचनालाई आधार मान्दै डा सिंहले माईस्थानको जरुवा पलाउन यसपालिको वर्षा सहयोगी भएको बताउनुभयो ।
जलवायु परिवर्तन र मनसुनको प्रभावका कारण प्रत्येक वर्ष वर्षाको मात्रा समान हुँदैन ।
यसै क्रममा पछिल्ला १० वर्षमा प्रत्येक वर्ष कति पानी प¥यो भन्ने यकिन गरिएपछि यहाँ जरुवा पलाउनुको कारण पहिल्याउन सकिने भूगर्भविद् सोमनाथ सापकोटा बताउनुहुन्छ ।
बर्दिबास वा नेपालका अन्य क्षेत्रमा वातावरणीय अध्ययन गर्दा वर्षाको तथ्याङ्क र भूमिगत पानीको सतहको मापन गर्दा कुन महिनामा कति वर्षा हुँदा भूमिगत पानीको सतहमा कस्तो प्रभाव प¥यो भन्ने स्पष्ट हुनसक्ने सापकोटाको भनाइ छ ।
यसका लागि स्थानीय तहले वैज्ञानिक तथ्याङ्क निकाल्न सके दीर्घकालीन समस्या समाधान गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । तर स्थानीय तहले तथ्याङ्कमा काम गर्न जाँगर नदेखाएका सापकोटाको गुनासो छ ।
विज्ञले जरुवा पलाउनुको वैज्ञानिक कारण खोजिनुपर्ने बताइरहेबीच यस भेगका बासिन्दा भने एक दशकपछि जरुवा पलाउनुलाई ‘चमत्कार’ झैँ बुझ्दैछन् ।
एक दशकपछि जरुवा पलाएर मन्दिर परिसरका तलाउ पानीले भरिएर कमल फुल्न थालेपछि दर्शन र पूजाअर्चनाका लागि पुग्ने श्रद्धालु दङ्ग देखिन्छन् ।
बितेका १० वर्षपछि सुकेका तलाउ र सुक्खा परिवेशले दिक्दार मान्ने श्रद्धालुलाई यसपाला यही ठाउँ मनोरम बनेको छ ।
“लाग्यो, फेरि १० वर्ष पहिलेको माईस्थान आइएको छ” मन्दिर दर्शनका लागि शुक्रबार पुग्नुभएका भङ्गाहा–५ सीतापुरका ७० वर्षीय राजेन्द्र मण्डलले खुसी व्यक्त गर्दै भन्नुभयो, “अब मन्दिर परिसरका तलाउ सधैं यस्तै कञ्चन पानीले भरिएकादेखि रहन पाइयोस् ।”
यसपाला जरुवा पलाएर मुहानबाट भूलभूल निस्केको पानीले सबै तलाउ र ओरपरका इनार भरिएपछि बर्दिबासका सामाजिक सङ्घसंस्था र मन्दिर छेउकै सशस्त्र प्रहरीको मधेस प्रदेश कार्यालयले नियमित सरसफाइ सुरु गरेका छन् । सरसफाइको संयोजन बर्दिबास उद्योग वाणिज्य सङ्घले गर्दै आएको छ ।
यस कार्यलाई निरन्तरता दिदै जरुवाको मुहान नियमित सफा गर्ने र पानीको स्वच्छताका लागि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले सबैसँग समन्वय गर्नसके जरुवा दिगो हुने माइस्थानबासीले आसा गरेका छन् ।