कात्तिक २०, २०८३ शुक्रबार

फाइल फाेटाे

काठमाडौँ, २० कात्तिकः अध्यागमन विभागले निषेधित तल्लो डोल्पा क्षेत्रमा पदयात्रा अनुमति नलिई प्रवेश गर्ने मेक्सिकोका चार जना नागरिकलाई कारबाही गरेको छ । 

    उनीहरूलाई पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुर प्रतिव्यक्ति प्रतिहप्ता अमेरिकी डलर २० र जनही रु १० हजारका दरले जरिवाना गरिएको विभागका प्रवक्ता गीता घिमिरेले जानकारी दिनुभयो । 

    निषेधित क्षेत्रमा अनुमति नलिइ मेक्सिकन नागरिक प्रवेश गरेको भनी जिल्ला प्रशासन कार्यालय डोल्पाले आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । विभागले प्रचलित कानुन पालना नगरेको भन्दै ट्राभल्स एजेन्सी माउन्ट रोज टुर्स एण्ड ट्राभल्सलाई रु ५० हजार जरिवाना गरेको छ । 

    निषेधित क्षेत्रमा पदयात्रा गर्दा अनिवार्य रूपमा अनुमति लिन विभागले निर्देशन दिएको छ । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान र अनुमति प्रणालीको पूर्ण पालना गर्नु अनिवार्य रहेको विभागले जनाएको छ ।