कात्तिक २१, २०८३ शनिबार

सोनी बर्तौला

काठमाडौँ, २१ कात्तिकः अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानले मुद्दालाई थप गम्भीर मोडमा पुर्‍याएको छ।
श्रीमतीको हत्या गरेको आरोप अस्वीकार गर्दै आएका नरेशले अदालतमा ममताको शव आफूले काटेर टुक्रा पारेको र फोहोर फाल्ने स्थानमा लगेर फालेको स्वीकार गरेका छन्। तर उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका छन्।

ममताको शव अहिलेसम्म फेला परेको छैन। त्यसैले अदालतमा अहिलेको मुख्य प्रश्न ममताको मृत्यु कसरी भयो र उनको मृत्युमा नरेशको भूमिका के थियो भन्ने बनेको छ।
यो विवरण नोभेम्बर ६ सम्म सार्वजनिक भएका अदालतका बयान तथा अमेरिकी सञ्चारमाध्यमका रिपोर्टमा आधारित छ। 

अदालतमा नरेश भट्टले के–के बयान दिए?
अदालतमा नोभेम्बर ४ र ५ मा दिएको बयानमा नरेशले आफ्नो बाल्यकाल, ममतासँगको सम्बन्ध र घटनाको दिनबारे विभिन्न विवरण प्रस्तुत गरेका छन्।
नरेशका अनुसार जुलाई २९ को रात उनी छोरीसँग अर्को कोठामा सुतेका थिए। भोलिपल्ट बिहान करिब ४ बजे उठेर मुख्य शयनकक्षको बाथरुमतर्फ जाने क्रममा ममता भुइँमा लडिरहेको अवस्थामा भेटिएको उनले बताए।

उनले अदालतमा प्रस्तुत गरेको विवरणअनुसार:
ममताको शरीर र भुइँमा बान्ता थियो।
बान्तामा चक्की तथा औषधिका क्याप्सुल देखिएको उनले दाबी गरे।
नजिकै विषादीका खुला प्याकेटहरू रहेको बताए।
ममताले विषादी सेवन गरेको हुन सक्ने उनको दाबी थियो।
उनले करिब ४५ मिनेटदेखि एक घण्टासम्म ममतालाई बचाउने प्रयास गरेको बताए।
सीपीआर गरेको र पानी खुवाउने प्रयास गरेको पनि उनको भनाइ थियो।
ममता प्रतिक्रिया नदिने र सास नफेर्ने अवस्थामा रहेको उनले बताए।

तर ममतालाई यस्तो अवस्थामा भेटेपछि पनि आफूले किन तत्काल ९११ मा फोन नगरेको भन्ने प्रश्नको जवाफमा उनले आफू डराएको र आत्तिएको बताए। कसरी यस्तो निर्णय गरेँ भन्नेबारे अझै स्पष्ट जवाफ दिन नसकेको उनको भनाइ थियो। 

यो मुद्दाको सबैभन्दा महत्वपूर्ण पक्ष नरेशले अदालतमा गरेको स्वीकारोक्ति हो।

उनले ममताको मृत्यु भइसकेको अवस्थामा आफूले शव लुकाउने निर्णय गरेको बताए। सुरुमा शवलाई घरबाहिरको फोहोर फाल्ने डब्बामा राख्ने प्रयास गरेको र पछि शवको आकार घटाउन आरा प्रयोग गरेको स्वीकार गरे।

उनका अनुसार:
शव व्यवस्थापन गर्न आफूले आरा प्रयोग गरेका थिए।
चक्कु पनि थोरै प्रयोग गरेको बताए।
सुरुमा शवको खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको बयान दिए।
शवलाई शयनकक्षबाट बाथरुममा सारेको बताए।
शारीरिक रूपमा थाकेका कारण पहिलो दिन शव काट्ने काम पूरा गर्न नसकेको दाबी गरे।
शव लुकाउने क्रममा छोरीलाई हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाएको र पछि घर फर्किएर काम जारी राखेको बताए।
करिब एकदेखि डेढ दिनको अवधिमा शव काटेर फोहोर फाल्ने डब्बामा राखेको उनको बयान छ।
उनले शव लुकाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती र पश्चात्ताप भएको पनि बताए। 

उक्त अन्तर्वार्तामा आफूले कहिल्यै झुट नबोल्ने बताएको भनाइ र अदालतमा आफन्त तथा प्रहरीलाई झुट बोलेको स्वीकार गरेको अवस्थाबीचको विरोधाभास देखाउन खोजिएको थियो।

 ममताप्रतिको व्यवहारबारे प्रश्न
सरकारी वकिलले ममता नरेशलाई सधैँ माया गर्थिन्, तर नरेशले उनलाई माया गर्न छाडेका थिए कि थिएनन् भन्ने विषयमा पनि प्रश्न गरेका थिए।
त्यस्तै, ममताको शव फोहोर फाल्ने डब्बामा राखेको र त्यसका लागि शरीरलाई काटेर सानो बनाएको विषयमा पनि प्रश्न गरिएको थियो।
नरेशले शव लुकाएको र काटेको स्वीकार गरे पनि ममताको हत्या आफूले नगरेको दाबी दोहोर्‍याए।

 हत्या गरेको हो कि होइन भन्ने सीधा प्रश्न
सरकारी वकिलले ममताको हत्या गरेको हो कि होइन भनेर सीधै सोध्दा नरेशले आफूले हत्या नगरेको जवाफ दिए।
उनको जवाफ थियो, “No, not even imagination.”
अर्थात्, कल्पनामा समेत आफूले हत्या नगरेको उनको दाबी थियो।
तर शव लुकाएको र त्यसलाई क्षति पुर्‍याएको स्वीकार गर्दै उनले त्यो आफ्नो ठूलो गल्ती भएको बताए। 

 फोहोरका झोलामा के थियो भन्ने विषयमा जिरह
अभियोजन पक्षले यसअघि अदालतमा सीसीटीभी फुटेज प्रस्तुत गरेको थियो। उक्त फुटेजमा नरेश विभिन्न स्थानका फोहोर फाल्ने डब्बामा झोलाहरू राख्दै गरेको देखिएको अभियोजन पक्षको दाबी छ। तर नरेशले ती झोलामा ममताको शवका अवशेष नभई उनका व्यक्तिगत सामान रहेको बताए।
सरकारी वकिलले उक्त दाबीलाई चुनौती दिएका थिए।

 छोरीको भविष्य र फोस्टर केयरबारे प्रश्न
ममताकी साथीले दिएको बयान र नरेशको भनाइबीच पनि सरकारी वकिलले प्रश्न उठाएका थिए।
ममताकी साथीका अनुसार नरेशले छोरीलाई फोस्टर केयरमा पठाउने विषयमा कुरा गरेका थिए। तर नरेशले आफूले छोरीको हेरचाहका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाएको दाबी गरेका थिए। यस विषयमा पनि दुवै पक्षको भनाइ फरक देखिएको छ। 

सरकारी वकिलले अदालतमा यसअघि प्ररस्तुत गरेका प्रमुख प्रमाण
नरेशको बयानभन्दा अगाडि अभियोजन पक्षले ८० भन्दा बढी साक्षी तथा विभिन्न प्रकारका प्रमाण प्रस्तुत गर्दै आफ्नो पक्षको बहस पूरा गरेको थियो।

प्रमाण अदालतमा प्रस्तुत विवरण
पावर स होम डिपोबाट खरिद गरिएको आरासँग नरेशको सम्बन्ध देखाउने सीसीटीभी र साक्षी
डीएनए आरामा भेटिएका केही नमुनाको डीएनए ममताको प्रोफाइलसँग मेल खाएको
कार्पेट शयनकक्षको कार्पेटमा भेटिएको रगत ममताको भएको सम्भावना अत्यन्त बलियो रहेको फरेन्सिक विशेषज्ञको बयान
फोहोरका झोला विभिन्न डम्पस्टरमा झोला फाल्दै गरेको सीसीटीभी फुटेज
मोबाइल र टेस्ला नरेशको मोबाइल र टेस्लाको लोकेसनसम्बन्धी विवरण
पसलको फुटेज ग्लोभ्स, फोहोरका झोला तथा सरसफाइका सामग्री खरिद गरेको विवरण
बैंक विवरण ममताले आफ्नै बैंक खाता खोलेको र आर्थिक कारोबार गरेको प्रमाण

अदालतमा प्रस्तुत अर्को महत्वपूर्ण पक्ष ममता र नरेशबीचको वैवाहिक सम्बन्ध थियो।
सन् २०२३ डिसेम्बरतिर ममताले आफ्नो अनुहारमा चोट लागेको र हातमा रगत देखिएको तस्बिर नरेशलाई पठाएको प्रमाण प्रस्तुत गरिएको थियो।
सोही समयको भिडियोमा ममताले ‘यो दोस्रो पटक हो’ भन्ने आशयको कुरा गरेको देखाइएको थियो।

त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजमा हस्ताक्षर गर्ने र यस्तो अवस्था फेरि नचाहेको आशयको सन्देश पठाएको देखाइएको थियो।
सन् २०२४ फेब्रुअरी १४ मा ममताले आफ्नो परिचयपत्र नरेशले लगेको भन्दै प्रहरीलाई बोलाएको विषय पनि अदालतमा आएको थियो।
ममताका दाजु महेशले बहिनीको आँखामा चोट लागेको तस्बिर आफूलाई पठाएको र नरेशले चोट पुर्‍याएको बताएको बयान दिएका थिए।
नरेशले भने आफूले ममतामाथि शारीरिक हिंसा नगरेको दाबी गर्दै आएका छन्। 

अब मुद्दा कुन चरणमा छ?
नोभेम्बर ६ शुक्रबार अदालतमा सुनुवाइ भएको छैन। सार्वजनिक रिपोर्टअनुसार नोभेम्बर ९ सोमबारदेखि सुनुवाइ पुनः सुरु हुने कार्यक्रम छ।

आगामी प्रक्रियामा:
प्रतिरक्षा पक्षले नरेशको बयानमाथि थप स्पष्टीकरण लिनेछ।
प्रतिरक्षा पक्षले थप एक जना साक्षी प्रस्तुत गर्ने र आफ्नो पक्षको प्रमाण पूरा गर्ने बताएको छ।
त्यसपछि सरकारी वकिलले प्रतिरक्षा पक्षका प्रमाणमाथि आफ्नो तर्फबाट थप साक्षी प्रस्तुत गर्न सक्नेछन्।
नोभेम्बर १० मंगलबारतिर अन्तिम बहस हुने सम्भावना छ।
नोभेम्बर १२ सम्म फैसला आउन सक्ने अनुमान सार्वजनिक रिपोर्टमा गरिएको छ। यो निश्चित मिति भने होइन। 

मुद्दाका तीन आरोप
नरेश भट्टले तीनवटा गम्भीर अभियोगको सामना गरिरहेका छन्।
First-degree Murder — प्रथम श्रेणीको हत्या।
Concealment of a Dead Body — मृत शरीर लुकाएको।
Physical Defilement of a Dead Body — मृत शरीरलाई अनुचित रूपमा क्षति पुर्‍याएको।
उनले तीनवटै अभियोगमा आफू दोषी नभएको बताएका छन्।

मुद्दाको सबैभन्दा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित छ: नरेशले ममताको शव काटेर लुकाएको स्वीकार गरिसकेका छन्। तर ममताको मृत्यु आत्महत्याका कारण भएको उनको दाबी प्रमाणित हुन्छ वा अभियोजन पक्षले लगाएको हत्याको आरोप प्रमाणित हुन्छ भन्ने निर्णय अदालतले गर्न बाँकी छ। ममताको शव अहिलेसम्म फेला परेको छैन।