कात्तिक २१, २०८३ शनिबार

रासस

पाल्पा, २१ कात्तिकः पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् ।

    रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल  टिप्नमा व्यस्त हुनुहुन्छ । उहाँहरु आमा छोरा हुनुहुन्छ । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गर्नुभएको छ । 

    फार्ममा अहिले ढकमक्क फूल फुलेका छन् । चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ । फूल खेतीबाट यस वर्ष करिब रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताउनुहुन्छ । 

    उहाँका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ । तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ । उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उहाँले बताउनुभयो । कोइराला बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत रहे पनि  कार्यालयपछिको समय फूल खेतीमा सदुपयोग गर्नुभएको छ ।

    फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आउनुभएको छ । आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ । 

    उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको कोइरालाले बताउनुभयो । स्वदेशी उत्पादनले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको उहाँको भनाइ छ । 
    
    बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गर्नुभएको छ । बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ ।

    श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गर्नुभएको छ । चाडपर्व लागेसँगै उहाँको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ । जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भालगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन् ।