दमौली (तनहुँ), २१ कात्तिक: राजनीतिमा सक्रिय रहँदै आउनुभएका तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुबासका सुदिन पौडेल पछिल्लो समय फूलखेतीमा रमाउन थाल्नुभएको छ । तिहारलाई लक्षित गर्दै उहाँले व्यावसायिक रूपमा सयपत्री फूलखेती सुरु गर्नुभएको हो ।
स्थानीयस्तरमा फूल उत्पादन गरी उपभोक्तासम्म ताजा फूल तथा माला पुर्याउने उद्देश्यका साथ पौडेलले तीन रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । तिहार नजिकिएसँगै उहाँको बारीमा उत्पादित फूल बजारसम्म पुर्याउने तयारीमा जुट्नुभएको छ ।
“नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा सयपत्री फूलको विशेष महत्व छ । घर, आँगन, मठमन्दिर, कार्यालय तथा विभिन्न सार्वजनिकस्थल सजाउन सयपत्री फूल र मालाको प्रयोग गरिन्छ । भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्दा पनि फूलमालाको प्रयोग हुने भएकाले यस समयमा सयपत्री फूलको माग उल्लेख्य रूपमा बढ्ने गर्छ”, पौडेलले भन्नुभयो ।
यही मागलाई ध्यानमा राखेर पौडेलले तिहार केन्द्रित फूलखेती गर्नुभएको हो । बजारमा बाहिरी जिल्लाबाट आयात हुने फूलको विकल्पका रूपमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्तालाई ताजा फूल उपलब्ध गराउने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । विशेषगरी तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले थोरै जग्गामा समेत व्यावसायिक खेती गरेर आम्दानी गर्न सकिने सम्भावना छ ।
उत्पादनसँगै बजार व्यवस्थापन, फूलको उचित मूल्य र भण्डारणको व्यवस्था किसानका लागि महत्वपूर्ण चुनौतीका रूपमा रहने गरेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “राजनीतिक तथा सामाजिक गतिविधिसँगै व्यवसायलाई पनि सँगै अगाडि लैजानुपर्छ भन्ने सोचसहित फूलखेतीमा लागेको हुँ ।”